Prakash Adhikari July 28, 2020

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको बहुमत सदस्यहरुको बैठक सञ्चालन गर्ने आँट गर्नुभएको छ । बैठक प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारी निवास बालुवाटारको ठूलो बैठक हलमा सञ्चालन भइरहेको छ ।

आजको लागि निर्धारित बैठक पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले एकल निर्णयका आधारमा निर्धारित समयको मुखैमा बन्द गरिदिए पछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीको कार्यले निकै क्रुद्ध हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीको विपक्षमा रहनुभएका कार्यकारी अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका नेताहरुको सोमबार खुमलटारमा सम्पन्न बैठकले भरसक सहमतीय पद्धतिबाट पार्टीको जारी स्थायी समितिको बैठक सञ्चालन गरेर सहमतिमा नै पूर्व निर्धारित एजेण्डामा छलफल गरी निर्णय गर्ने नभए लोकतान्त्रिक पद्धति अनुरुप बहुमतीय पद्धतिलाई अंगीकार गरेर पार्टीलाई अनिर्णयको बन्दीबाट मुक्त गराउने समझदारी भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो लहडमा पूर्व निर्धारित समय तालिका अनुसारको स्थायी समितिको बैठक स्थगित गरेको घोषणा गरेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र शीर्ष नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीसंग वार्ता गर्नुभएको थियो ।


पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसंगको वार्ताको विषयवस्तु र प्रगतिको जानकारी दिदैं बहुमत सदस्यहरुको बैठक प्रारम्भ गर्नुभएको थियो ।

उहाँले ‘त्यहि बैठकको निरन्तरता भन्दा दुर्घटना हुनसक्ने संभावना भएकोले त्यसो नभनी बहुमत सदस्यहरुको बैठक भनौं भनी ’ बैठकको सुरुआत गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकमा , ‘अध्यक्ष ओलीले दुई अध्यक्षात्मक प्रणालीमाथि धावा बोल्नुभयो, उहाँले जसरी स्थगित गर्नुभयो त्यो बैधानिक छैन भनेर बताउनुभएका थियो ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग ‘बैठक नरोकौं, कोभिड–१९ बारे छलफल गरौं, भोलि सचिवालय बैठक गरेर फेरि नयाँ ढंगबाट संवाद थालौं’ भन्ने प्रस्ताव गर्दा पनि ओली त्यसका लागि तयार नभएको कुरा बैठकलाई जानकारी गराउनुभएको थियो ।

निर्धारित समयको बैठक प्रारम्भ हुनुभन्दा केही समय पहिले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको जानकारी आएपछि कार्यकारी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत ओलीइतर नेताहरु हुत्तिदै बालुवाटार पुग्नुभएको थियो।


बहुमतीय बैठकमा २८ जना स्थायी कमिटी सदस्यहरु उपस्थित भएको बताइएको छ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सो बैठकमा धारणा राख्दै अहिले जुन अवस्था सिर्जना भयो त्यो चिन्ताजनक भन्दै फेरि पनि संवादबाटै निकास खोज्नुपर्ने बताउनुभएको छ।

महासचिव विष्णु पौडेल लगायत ओलीपक्षीय स्थायी कमिटी सदस्यहरु भने सो बैठकमा सहभागी हुनुहुन्न।

प्रधानमन्त्रीको सल्लाहकार सूर्य थापाले बहुमत स्थायी समितिका सदस्यहरुको बैठकलाई ब्रिफिड.मात्र भएको र औपचारिक बैठक स्थगित नै भएको दावी गर्नुभएको छ ।

Share Now

Leave a comment.