Prakash Adhikari January 25, 2018

काठमाडौं,११ माघ । प्रदेश नं २, ३, ४ र ७ का प्रदेश प्रमुखहरुले आआफ्नो प्रदेश सभा अधिवेशन आह्वान गरिसकेका छन्।

प्रदेश १, ५ र ६ मा भने प्रदेश प्रमुखहरू अधिवेशन आह्वानका लागि संबन्धित प्रदेश सभामा निर्वाचित राजनीतिक दलका नेताहरुसंग छलफलमा जुटेका छन्।
२ नं प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थले सो प्रदेशको सभाको अधिवेशनको पहिलो बैठक माघ २१ गते जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा बस्ने गरी आह्वान गरिसकेका छन्।

यस्तै, प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले प्रदेश सभाको अधिवेशनको पहिलो बैठक माघ १८ गते दिउँसो १ बजे मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बस्ने गरी आह्वान गरेकी छन्।

प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले ४ नंं को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक माघ २२ गते पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बस्नेगरि आह्वान गरेका छन्।

यस्तै, प्रदेश ७ का प्रमुख मोहनराज मल्ले सो प्रदेशको प्रदेश सभाको अधिवेशनको पहिलो बैठक माघ २१ गते जिल्ला समन्वय समिति कैलालीको सभाहलमा बस्ने गरि आह्वान गरिसकेका छन् ।

प्रदेशसभाकोे निर्वाचनको लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशप्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ ।

Share Now

Leave a comment.