लखनऊ( उत्तरप्रदेश, भारत), १८ साउन (बीबीसी) । कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो।
उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उहाँको निधन भएको हो।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। यसैकारणले उहाँले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गर्नुभएको छ।
कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री हुनुहुन्थ्यो। सन् २०१७ मा भारतीय जनता पार्टीले उहाँलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो।
उहाँ त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बन्नुभएको थियो। त्यसपछि गत वर्ष मात्र उहाँलाई मन्त्री बनाइएको थियो।


















