काठमाडौ, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ पुगेको छ।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ।
निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १ सय ११ जना निको भएसँगै अहिलेसम्म १४ हजार ६ सय ३ जना अर्थात् ७१.८ प्रतिशत रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ६ सय ७२ छ।

मन्त्रालयले साउन १४ को निर्णयानुसार कोभिड(१९ परीक्षणका लागि आरडीटी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरूलाई पुनः जानकारी गराइएको बताएको छ।
को हुन् सङ्क्रमित ?
आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।
तीमध्ये काठमाडौं उपत्यकाका ३१ जना छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये पर्साका ८१ र धनुषाका ३५ जना छन्।
पर्सामा सङ्क्रमण देखिनेमा मास ट्रेसिङअन्तर्गत तथा स्वेच्छाले आफैँ शुल्क तिरेर पीसीआर परीक्षण गराएकाहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस परीक्षण
काठमाडौं जिल्लामा थप २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोनाभाइरस देखिएको हो।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका मुख्य प्रवेशद्वार नागढुङ्गा, साँगा र फर्पिङमा साउन १० गतेदेखि १६ गतेसम्म १० हजार ८ सय २७ जनाबाट नमुना सङ्कलन गरिएको र परीक्षण भइरहेको छ।
को हुन् मृतक ?
मन्त्रालयले अहिले मृत्युको पुष्टि गरेकी व्यक्ति पर्साकी हुन्।
वीरगन्ज महानगरपालिका नगवाकी ६८ वर्षीया महिलाको शनिवार साँझ मृत्यु भएको थियो। उनमा साउन १६ गते कोभिड पुष्टि भएको थियो।
नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
ज्वरो र निमोनिया भएपछि उपचारका लागि गत बुधवार ती वृद्धालाई एउटा निजी अस्पताल भर्ना गरिएको जानकारी कोभिड अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिनुभयो।
डा. सिंहका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि कोभिड विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटामै मृत्यु भएको थियो।
मन्त्रालयले उनमा मधुमेह र उच्च रक्तचापको समस्या पनि भएको जनाएको छ।

यसरी बढिरहेको छ सङ्क्रमण
५ जिल्लामा संक्रमण शून्य
विगत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि १० हजार ९ सय भन्दा केही बढी मानिस क्वारेन्टाइन छन्। तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले रौतहट र कैलाली जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा भने सक्रिय सङ्क्रितको सङ्ख्या शून्यमा झरेको छ।(स्रोतःबीबीसी नेपाली)


















