काठमाडौं, १९ साउन । विगत २४ घण्टामा देशभरि थप ४ सय १८ जनामा कोभिड १९ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार यो सहित अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २० हजार ७ सय ५० पुगेको छ ।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । विगत २४ घण्टामा ३ सय ५८ जना निको भएर फर्केका छन् । यो सँगै अहिलेसम्म १४ हजार ९ सय ६१ जना सङ्क्रमित भाइरसमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ७ सय ३२ छ।
काठमाडौंमा थप ५१ जनामा संक्रमण
सोमवार काठमाडौं उपत्यकामा ५१ जना सङ्क्रमित थपिएका छन्।
तीमध्ये काठमाण्डूमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ३ जना भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ७ सय ३२ छ।
तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २ हजार ३ सय ५७ जना छन् भने सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा २ सय ९०, वागमती प्रदेशमा ६ सय ५१, गण्डकी २ सय ७५, प्रदेश नं ५ मा ३ सय १५ र कर्णाली प्रदेशमा २ सय ९८ जना रहेका छन्।
विगत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १ सय ३७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि १० हजारभन्दा केही बढी मानिस क्वारेन्टाइनमा छन्। तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले रौतहट, महोत्तरी र कैलाली जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
भोजपुर, सङ्खुवासभा, मनाङ र मुस्ताङ जिल्लामा भने सक्रिय सङ्क्रितको सङ्ख्या शून्यमा झरेको छ।


















