हिरोसिमा(जापान),२६ साउन(बीबीसी) । अमेरिकाले ७५ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो।
परमाणु बमले कतिको मृत्यु भयो भन्ने तथ्याङ्क अनुमान मात्रै हो। तर हिरोशिमाका ३५०,००० जनसङ्ख्यामध्ये १४०,००० र नागासाकीमा कम्तीमा ७४,००० मानिस मरेको बताइन्छ।
बमको विकिरिणको असरका कारण हप्तौँ, महिनौँ र वर्षौँपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए।
बम विस्फोटपछि एशियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।
आलोचकहरू बम खसाल्नु अगाडि नै जापान समर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्।

हिरोशिमामा १४०,००० मानिस मरेको अनुमान गरिन्छ
सन् १९४५ मे ७ मा युरोपमा युद्ध सकिएको थियो र जापानलाई जुलाई २८ सम्म समर्पण गर्ने समयसीमा तोकिएको थियो।
ब्रिटेन र कमनवेल्थ राष्ट्रका ७१,००० सैनिक जापानसँगको युद्धमा र थप १२,००० जापानी नियन्त्रणमा मरेको अनुमान गरिन्छ।
अगस्ट ६ मा बिहान ८:१५ मा ‘इनोला गे’ नामक अमेरिकी बी-२९ विमानले हिरोशिमामा परमाणु बम खसालेको थियो।

हिरोशिमामा परमाणु बम खसालेको विमान र विमानका चालक दल
युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना थियो।
हिरोशिमामा खसालिएको ‘लिटल बोइ’ नामक बममा लगभग १५,००० टन विस्फोटक पदार्थको शक्ति थियो र यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पार्यो।

हिरोशिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त भएका थिए

एक महिलाको शरीरमा लागेको चोट

बम खसालिएको समयमा रोकिएको एउटा घडी

हिरोशिमामा बम खसालिनु अगाडि र पछाडिका तस्बिरहरू
तर हिरोशिमामा बम खसालेपछि पनि जापानले आत्मसमर्पण गरेन।
तीन दिनपछि अमेरिकाले नागासाकीमा ११:०२ बजे अर्को परमाणु बम खसाल्यो।

हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बम विस्फोट हुँदाको तस्बिर
नागासाकीमा बम खस्दा रिको हाडा नौ वर्षकी थिइन्।
एउटा अन्तर्वार्तामा उनले भनेकी छन्: “म घरको ढोकामा थिएँ, र सायद एक पाइला भित्र पनि रखेकी थिएँ जति बेला अचानक त्यस्तो भयो।”
“मेरो आँखा अगाडि एउटा चमक देखियो। त्यसको रङ्ग पहेँलो र सुन्तला एकै ठाँउमा मिसाएको जस्तो थियो।”
“मसँग त्यो के हो भनेर सोच्ने समय पनि थिएन… निमेषभरमै सबै कुरा सेतो भयो।”
“मलाई लाग्यो म एक्लै भएँ। अर्को क्षणमा ठूलो आवाज सुनियो। र म बेहोश भएँ।”
,
नागासाकीमा भत्किएको एउटा भवन
“मानिसहरू भागिरहेका थिए। आँखा बाहिर निस्केका, कपाल लथालिङ्ग भएका, लगभग सबै नाङ्गा, नराम्ररी पोलिएका र छाला झुण्डिएका मानिसहरू।”
“मेरो आमा र अन्य महिलाहरूले घरमा रुमाल र तन्ना लिएर भागिरहेका मानिसहरूलाई नजिकैको कलेजतर्फ लगे र बस्न भने।”
“उनीहरूले पानी मागे। मलाई पानी दिन भनियो। मैले एउटा फुटेको कचौरा भेटेँ र नजिकैको खोलाबाट पानी ल्याएर पिउन दिएँ।”
“पानीको एक घुट्को पिएपछि उनीहरूको मृत्यु भयो। त्यसरी एकपछि अर्को मरे।”
“ती मानिसहरू को थिए भनेर थाहा पाउनु असम्भव थियो। उनीहरू मानिस जसरी मरेनन्।”

सन् १९४५ को अक्टोबरमा वायु प्रदुषणबाट बच्न नागासाकीमा मास्क लगाएका बालबालिकाहरू
जापानले अगस्ट १४ मा आत्मसमर्पण गर्यो।
त्यही दिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले भने: “हामीले पर्ल हार्बरपछि कुरिरहेको दिन आज हो।”
एक दिनपछि जापानी सम्राट हिरोहितोले रेडिओमा जापानको आत्मसमर्पणका लागि नयाँ र सबैभन्दा क्रुर बमको प्रयोग भएको बताए।
उनले भने: “हामीले युद्ध कायम राखेको भए त्यसले जापानी राष्ट्र पूर्ण रूपमा हराउने मात्रै थिएन, यसले मानव संस्कृति नै हराउने थियो।”
ब्रिटिश प्रधानमन्त्री क्लेमेन्ट एट्लीले भने: “हाम्रो अन्तिम शत्रुलाई घुँडा टेकाइएको छ।”

बम खसालिएको एक वर्षपछि हिरोशिमा सहरमा सरकारले दिएको काठले बनेका घरहरू देखिन्छन्
यूके, अमेरिका र अस्ट्रेलियामा जापानको आत्मसमर्पणपछि दुई दिन बिदा दिइयो।
अगस्ट १५ मा जापानमाथि विजयको दिवसमा लाखौँ मानिसहरू सडकमा निस्किए।

सन् १९४६ मा हिरोशिमाको एउटा विद्यालयको कक्षाकोठा
आत्मसमर्पणको आधिकारिक दस्तावेजमा जापानले सेप्टेम्बर २ मा हस्ताक्षर गरेको थियो।

हिरोशिमामा बम विस्फोटमा घाइते एक बालिका सन् १९४६ मा विद्यालयमा अध्ययन गर्दै
हिरोशिमाको ‘एटोमिक बम डोम’ परमाणु बम झेल्ने थोरै भवनमध्ये एक थियो र अहिले यसलाई संरक्षण गरिएको छ।

परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।


















