Prakash Adhikari August 10, 2020

बाग्लुड.बजार (बाग्लुडं), २६ साउन(रासस) । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुने नहुने सल्लैको ’बोलको गीत युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ।

यस बीचमा गीतको म्यूजिक भिडिओले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ। सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ।

सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीतको नाम दर्ता भएको थियो। चार महीना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो।

गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको सुरिलो स्वर रहेको छ। गीतमा युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिनुभएको छ।

स्रोता र दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो।

अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ। पछिल्लो एक महिनामा यो गीत झण्डै १० लाख पटक हेरिएको छ।

“स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भन्नुभयो। झ्याउरे लयमा ठेट जनजिब्राका शब्द र मन छुने स्वरले गीतमा प्राण भरेको छ। म्युजिक भिडियोको कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ।

म्युजिक भिडिओ नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ। निर्देशन शिव विकले गर्नुभएको छ। हाल अमेरिकामा रहनुभएका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, गीतकार पन्तले भन्नुभयो । गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिनुभएको छ। “सालको पाते मेरो साङ्गीतिक जीवनको मानक गीतका रूपमा सधैँ सम्झिइने छ”,  उहाँले भन्नुभयो।

अभ्यास डिजिटल म्यूजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो

Share Now

Leave a comment.