काठमाडौं, २५ साउन । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ३ सय ८० जना बिरामी भएका छन् ।
यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२ हजार ९ सय ७२ पुगेको छ।
मन्त्रालयका प्रवक्ता व्रा. डा. जागेश्वर गौतमका अनुसार अहिले ६ हजार ५ सय ४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६ हजार ३ सय ५३ जना भाइरसमुक्त भएका छन्।
शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच(पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो।
आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंका ९० जना र पर्साका ७३ जना रहेका छन्।
त्यस्तै धनुषाका ३७ जना र मोरङका २८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी सङ्क्रमित कहाँ ?
सबैभन्दा बढी सक्रिय सङ्क्रमित पर्सामा रहेका छन्। त्यहाँ आइतवार ९ सय ३ जना उपचाररत छन्।
त्यसपछि काठमाडौंमा ७ सय ९० जना उपचाररत छन् भने रौतहटका ७ सय ४५ जना र महोत्तरीका ५ सय ७९ जना उपचाररत छन्।ललितपुरका १०५ र भक्तपुरका ५३ जना सङ्क्रमित उपचारमा छन्।
काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ४८ रहेको छ।
त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन्।

मृतक को हुन् ?
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११ ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभएको छ ।
मधुमेहका रोगी उनलाई साउन १७ गते कोभिड १९ पुष्टि भएपछि सघन उपचार कक्षमा राखेर उपचार गराइएको बताइएको छ।
त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ।
उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन।
मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

परीक्षणको स्थिति
विगत २४ घण्टामा ८ हजार ५ सय १५ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए।
अहिले देशभरि क्वारेन्टाइनमा ११ हजार ३८ जना छन्।
अहिले गण्डकी र प्रदेश नं १ मा क्वारेन्टाइनमा हुनेको सङ्ख्या सर्वाधिक छ।
जुम्लामा छ महिने बालक सङ्क्रमित
जुम्लामा एक बालकसहित थप ६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।
सङ्क्रमित बालक ६ महिनाको भएको र अन्य तीन जना सुत्केरी महिला भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभएको छ।
योसँगै जुम्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८२ जना पुगेको छ।
प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो।
जुम्लाको तिला गाउँपालिका वडा नम्बर ५ र जुम्ला सदरमुकाम खलंगामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्या बढ्दै गएको हुनाले आइतवार दिउँसो ३ बजेबाट अर्को सूचना नहुन्जेल सम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार औषधि पसल र आकस्मिक स्वास्थ्य सेवा बाहेकका सबै सेवाहरु पूर्णरूपमा बन्द गरिएको छ।
नुवाकोटको ७ स्थानीय तहमा निषेधाज्ञा
समुदायस्तरमा कोरोनाभाइरस सङ्क्रमित भेटिएपछि नुवाकोटको ७ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ।
लकडाउन खुलेको केही दिनमा नै नुवाकोटमा समुदायस्तरमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि १० दिनका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ ।
औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने अत्यवश्यक काममा बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
(बीबीसी नेपाली सेवाबाट)


















