नयाँदिल्ली(भारत),१२ माघ । नेपालका नेत्र चिकित्सक चिकित्सक डा. सन्दुक रूइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित गरेको छ।
भारत सरकारले ६९ औं गणतन्त्र दिवसको उपलक्ष्यमा बिहीबार राति डा. रूइतलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जाको नागरिक सम्मान पाउनेहरूको सूचीमा नेपाली नेत्र चिकित्सक डा.रुइतको नाम पनि समेटिएको हो।
सस्तो मूल्यमा मोतिविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले डा. रूइतलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।
डा. रुइतको प्रविधिले मोतीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ।
उनी हप्तामा २ हजार ५ सय जति बिरामीको उपचार गर्छन् भने पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवासमेत दिने गरेका छन्।
अष्ट्रेलियामा अध्ययन गरेर नेपाल फर्किएका उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आविष्कार गरेका हुन्।
डा. रुइत म्यागासेसे सहित विश्वका थुप्रै प्रतिष्ठित पुरस्कारबाट सम्मानित छन् ।



















