Prakash Adhikari August 11, 2020

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक वाहेकका सेवा भाद्र १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

समुदायमा फैलिँदो कोरोनालाई थप फैलिन नदिन उपत्यका नगरपालिका फोरमको  सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोनाको संक्रमणबाट उत्पन्न हुन सक्ने संकट व्यवस्थापन गर्ने बिषयमा बैठकमा ११ वटा प्रस्ताव राखिएका थिए । ती प्रस्तावमाथि छलफल गर्दै — अन्तरजिल्ला आवतजावतको प्रस्थान बिन्दुमा कडाइ गर्न र आउँदा दिनमा बिदेशबाट फर्कनेहरुका लागि आवश्यक क्वारेन्टाइन बनाउन संघ सरकारलाई अनुरोध गर्नेलगायत निर्णय भएका छन् ।

बैठकले महामारी रोकथाम र नियन्त्रणका लागि सरकार र स्थानीय तहबाट जारी गरिएका निर्देशनको कडाइका साथ कार्यान्वयन गर्ने, सामाजिक सुरक्षा भत्ता प्रयोजनको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागले जारी गरेको साउनभित्र जारी गरेको नविकरण गर्ने म्यादलाई असोज मसान्तसम्म थप गर्न सरकारलाई अनुरोध गर्ने  निर्णय गरेको छ ।

सरकारको समर्थन वा विरोधमा ¥याली निकाल्न निषेध गर्ने, जात्रा र पर्व मनाउँदा परम्परामात्र धान्ने तर भीड नगर्ने गरी मनाउन उचित निर्णय गर्न सरकारलाई आग्रह गर्ने फोरमले निर्णय गरेको छ ।

फोरमका तर्फबाट हिजो कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी यही सुझाव दिएको थियो । सोमबार बसेको सिसिएमसिको बैठकले यही विषयमा केन्द्रीत रहेर छलफल गरेको थियो । ‘उपत्यकामा घनावस्ती छ । यसैकारण कोरोना संक्रमण समुदाय स्तरमा छिटो फैलिने खतरा छ । यसको महामारीबाट बच्नका लागि पिसिआर परीक्षणमाभन्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आवश्यक छ ।’

बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ , ‘कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम विकल्प पिसिआर परीक्षण रहेको तथ्य प्रष्ट छ । पिसिआर परीक्षणको आर्थिक भार र त्यसको उपयोगिता परीक्षण भएको सीमित अवधिलाई मात्र हो । यसकारण परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने भन्दा संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा विस्तार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको परिचालन र सेवा विस्तारमा ध्यान दिनु आवश्यक देखिएकोले सोतर्फ प्राथमिकता दिई कार्य गर्न माग गर्दछौँ ।’

उपत्यका संक्रमणको उच्च जोखिममा देखिएकोले अनधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ विहान मात्र सीमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकलमार्फत गरिने व्यापारलाई भाद्र १५ गते सम्मको लागि निषेध गर्ने बैठकले निर्णय गरेको छ ।

कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइरहँदा ती ठाउँमा कार्यरत मजदुरहरु दैनिक आवात जावतले संक्रमण जोखिम बढेको छ । त्यसैले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गराउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । संक्रमण दर तीब्र भएको स्थितिलाई ध्यानमा राखी भदौ १५ गतेसम्म सार्वजनिक सवारी सञ्चालन नगर्न सरकारलाई अनुरोध गर्ने, निजी सवारी साधनमा लागू गरिएको जोरविजोर प्रणाली नियमित गर्न बैठकले संघ सरकारसँग माग गरेको छ ।’

Share Now

Leave a comment.