काठमाडौं, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको १ सय १ वर्षको उमेरमा निधन भएको हो ।
कवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
वि.सं. १९७६ असोज ७ गते लमजुङको भीरपुस्तुन गाउँमा जन्मनुभएका कवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकारका रुपमा परिचित हुनुहुन्छ ।
उहाँका नव मञ्जरी, गौरी (शोक काव्य), मालती मङ्गले(गीति नाटक), हिमालपारि-हिमालवारि (गीति नाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीत सङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि-हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
लोकप्रिय राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका चर्चित गीतहरूमध्ये तारादेवीको स्वरमा रहेको ‘फूलको थुङ्गा बगेर गयो’ र नारायण गोपालले आवाज दिएको ‘आजै र राति के देखेँ सपना’ हुन्।
नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।


















