Prakash Adhikari August 26, 2020

क्विन्स् पार्क ओभल,पोर्टअफ स्पेन(ट्रिनिडाड एण्ड टोबाको), १० भाद्र । क्यारेबियन प्रिमियर लिग २०२० अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तल्लाहबाजले गुयना अमेजन वारियर्सलाई पराजित गरी दोश्रो जित दर्ता गरेको छ।

पोर्टस् अफ स्पेनको क्विन्स् पार्क ओभलामा सम्पन्न खेलमा जमैका तल्लाहबाजले गुयना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको थियो ।


खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै गुयनाले दिएको १ सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा १ सय १३ रन बनाएर पूरा गरेको थियो ।
१ सय ९ रनको सहज लक्ष्य प्राप्त गरे पनि जमैकाको सुरुआत राम्रो हुन सकेन । ६२ रन जोड्दा ५ विकेट गुमाएको जमैका निकै दवावमा थियो । उसका ग्लेन फिलिप्स २६ रनमा, जर्माइन ब्ल्याकवुड २३ रनमा, चाडविक वाल्टन एक रनमा, असिफ अलि तीन तथा कप्तान रोभम्यान पावे दुई रन बनाएर आउट भएका थिए।

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका क्रुमाह बोनर र सातौँ नम्बरका आन्द्रे रसेल मैदानमा उत्रेपछि जमैकाको खेलमा ज्यान आयो । छैठौं विकेटको रुपमा दुवैले ५१ रनको साझेदारी गरे। रसेलले अविजित २३ रन बनाउदा २० बलमा १ चौका र २ छक्का तथा बोनरले अविजित ३० रन बनाउदा ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरेर टिमलाई विजय दिलाए

गायनाको बलिंगमा नभिन उल हकले २ तथा इमरान ताहिर, आशमेड निड र किमो पौलले समान १ । १ विकेट लिएका थिए ।

गुयनाको ब्याटिड.

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा गायनाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सकेको थियो। खेलमा रस टेलरले सर्वाधिक २३, नभिन उल हकले अविजित २० तथा निकोलस पुरनले १५ रन बनाउनु बाहेक अन्य गायनाका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अघिल्लो खेलमा पनि गायनाबिरुद्ध मात्र १८ रन खर्चेका मुजिब उर रहमानले पुनः ३ विकेट लिने क्रममा झनै उत्कृष्ट बलिंग गरे। प्लेयर अफ द म्याच चुनिएका उनले ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन मात्र जोड्न दिए । उनले शिमरन हेत्मायर, निकोलस पुरन र क्रिस ग्रिनको विकेट लिए।

यस्तै फास्ट बलर फिडेल एड्वार्ड्सले पनि ४ ओभरमा ३० रन जोड्न दिएर ३ विकेट लिए । एड्वार्ड्सले इनिंगको पहिलो बलमै गायना ओपनर ब्रान्डन किंगलाई बोल्ड गर्दै प्रतिस्पर्धी टिमको मनोबल धराशायी बनाएका थिए । उनले अर्का ओपनर एन्थोनी ब्राम्बललाई पनि पाँचौ ओभरमा आउट गरेका थिए।

सन्दीपले  लिए एक विकेट

खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले एक विकेट लिने सफलता पाए । उनले ४ ओभरको बलिड.मा मात्र १२ जोड्न दिएर एक विकेट लिएका थिए अवस्थामा १० औं ओभरमा बलिंग गर्न आएका सन्दिपले स्पेलमा १६ वटा डट बल फाल्दै बिपक्षी टिमलाई निरन्तर दबाबमा राखेका थिए । उने पहिलो स्पेलनमा ४ वटा डट बल फाले र ३ रन बनाउन दिए । दोस्रो स्पेलको सुरुमा उनले शरफेन रथरफोर्डको विकेट लिए । एक बल वाइड फाले ३ बल डट । यस ओभरमा उनले ४ रनमात्र जोड्न दिए ।

१४ औं ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपले ५ बल डट फाल्दै मात्र १ रन बनाउन दिए ।

१६ औं ओभरमा आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपले यसमा पनि ३ बल डट फाले र बाँकी ३ बलमा मात्र ४ रन बनाउन दिए ।

सीपीएल आठौं संस्करणमा आइपुग्दा लगातार तेश्रो पटक सीपीएल खेल्न पाएका नेपाली क्रिकेट स्टार सन्दीपलाई यसपटक जमैका तल्लाहबाजले ९० हजार डलर तिरेर भित्र्याएको थियो।

उनले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स तथा २०१९ मा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका थिए।

सन्दीपले यसपटकको सीपीएलका सुरुआती ४ खेलमा ५ विकेट लिएका छन् । उनले सेन्ट लुसिया र ट्रिनबागो बिरुद्ध एक एक विकेट लिएका थिए भने गायनाबिरुद्धको तेस्रो खेलमा ८ रन खर्चेर २ विकेट लिएका थिए।

Share Now

Leave a comment.