विराटनगर(मोरड.), १० भाद्र । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इमर्जेन्सी विभागमा कार्यरत ५५ स्वाथ्यकर्मीहरुले राजिनामा दिएको भोलिपल्टै कार्यरत नर्सहरुले सामूहिक राजीनामा दिएका छन्।
अस्पताल प्रशासनले कोरोना भाइरसको घातक संक्रमणबाट जोगिने लगायत पेशागत सुरक्षाका मागको सुनुवाई नगरेको भन्दै कार्यरत स्वास्थ्यकर्मीहरुले राजिनामा दिएका हुन् ।
अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसियु र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नु पर्ने, संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँच दिन क्वारेन्टाइमा बसेपछि पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः डियुटीमा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र सात दिन अस्पताल क्वारेन्टाइन र त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका थिए।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना मागको सुनवाइ नभएको र प्रशासनले स्वास्थ्यकर्मीहरुको सुरक्षाको विषयमा कहिल्यै चासो नदिएकोले सामूहिक राजीनामाबाट बिरामीमा पर्न गएको असुविधाप्रति अस्पताल नै जिम्मेवार हुनुपर्ने हुने व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको नोबेलकै एकजना नर्सलाई अस्पताल प्रशासनले लक्षण नदेखिएको भन्दै अस्पतालको आइसोलेनमा नराखी होम आइसोलेनमा सुझाव दिएपछि कलेजमा कार्यरत नर्सहरू विचलित भएका थिए । हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्सहरु यस घातक कारोना भाइरसको संक्रमणमा परिसकेका छन्।
यस अगाडि नोबेल मेडिकल कलेज विराटनगरको इमर्जेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका थिए ।
स्वास्थ्यकर्मीहरुले पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले पाँच हजार तलब वृद्धि गर्न माग गरेको तर व्यवस्थापनले चार हजार मात्र वृद्धि गर्न सक्ने बताएको उल्लेख गर्दै त्यसपछि सामूहिक राजिनामा आएको पुष्टि गर्नुभएको छ ।


















