काठमाडौं, १५ भाद्र । सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ।
आज आइतबार साँझ बसेको मन्त्री परिषद बैठकले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।
महावाणिज्यदूत नियुक्त गर्ने प्रक्रिया अन्तर्गत दुवै सहसचिवलाई गत मंगलबार परराष्ट्र मन्त्रालय सरुवा गरिएको थियो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालय सरुवा हुनुअघि रानामगर झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गत दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखका कार्यरत हुनुहुन्थ्यो ।
हङकङ र मकाउ चीनका विशेष प्रशासनिक क्षेत्र हुन् भने ल्हासा तिब्बत स्वशासित क्षेत्रको राजधानी हो।
हङकङमा करिब ४० हजार नेपाली स्थायी रुपमा बसोबास गर्छन् भने मकाउमा ४ हजार जति नेपाली कार्यरत छन्। नेपालीका लागि अध्यागमन सेवाका साथै पर्यटन, लगानी र व्यापारका हिसावले नेपालका लागि हङकङ र मकाउको महत्व रहेको छ।
तिब्बतको ल्हासा चीनको एक मात्र यस्तो क्षेत्र हो, जहाँ नेपालको मात्रै महावाणिज्य दूतावास छ। प्राचीनकालदेखि नेपाल र तिब्बतबीच व्यापार हुँदै आएको छ भने ल्हासामै रहेर व्यापार व्यावसाय गर्ने नेपाली पनि प्रशस्तै छन्। तिब्बतको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा ठूलो हिस्सा नेपालले नै ओगटेको छ।


















