पोर्टल्याण्ड, (संयुक्त राज्य अमेरिका),१५ भाद्र(बीबीसी) । अमेरिकाको पोर्टल्याण्डमा हिंसक बनेको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन चर्को आरोप प्रत्यारोपमा उत्रिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरलाई ‘सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको’ आरोप लगाउनुभएको छ।
बाइडनले भने राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसा उकासेको’ र अमेरिकामा ‘घृणा र विभाजनको आगो फुकेको’ आरोप लगाउनु भएको छ ।
एक प्रदर्शनकारीको मृत्यु
शनिवार अमेरिकामा ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर अभियानका सहभागीबीच झडप हुँदा एकजना श्वेत प्रदर्शनकारी मारिएका थिए।
अफ्रिकी-अमेरिकी जोर्ज फ्लोईडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्याण्ड प्रहरी बर्बरता र रङ्गभेदविरोधी प्रदर्शनको केन्द्र बनेको छ।
त्यहाँ तीन महिनादेखि प्रदर्शन चलिरहेको छ।
मे २५ मा मिनिसोटा राज्यको मिनिअपोलिसमा प्रहरी नियन्त्रणमा फ्लोइड मारिएपछि त्यसरी विरोध निम्त्याएको हो।

राष्ट्रपति ट्रम्पको भनाई
आइतवार चरणबद्ध ट्वीटहरू गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ुमूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पुरानो स्वरूप नपाउनेु बताउनुभएको थियो।
र उहाँले त्यहाँ सङ्घीय बलका जवानहरू पठाउनु पर्ने सोचिरहेको बताउनुभयो।
उहाँले बाइडनलाई ‘नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको’ आरोप लगाउनुभयो।

जबाफमा एउटा विज्ञप्तिमार्फत् बाइडनले भन्नुभयो, ’ट्रम्पलाई कानुनीराजबारे ट्वीट गरेर आफूलाई बलियो देखाउन सकिन्छ भन्ने लाग्दो हो। तर आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले उहाँ कति कमजोर छन् भन्ने देखाउँछ।’
एउटा पत्रकार सम्मेलनमा मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्पलाई ‘आधुनिक इतिहासकै अमेरिकालाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको’ आरोप लगाएका छन्।


















