Prakash Adhikari August 31, 2020

काठमाडौं, १५ भाद्र । नेपालमा प्राण घातक कोरोना भाइरसको संक्रमणबाट २ सय २८ जनाको मृत्यु भइसकेको छ भने झण्डै साढे ३९ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८ सय ९९ संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार सोमबार पुष्टि गरिएको सात मृतकमध्ये महोत्तरीकी चार वर्षीया बालिकासहित तीन जना महिला रहेका छन्।

गोर्खाकी ६२ वर्षीया र रूपन्देहीका ६८ वर्षीया महिलाको पनि गएको २४ घण्टामा निधन भएको छ।

सो अवधिमा निधन हुने पुरुषहरूमा झापाका ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय व्यक्ति रहेका छन्।

विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी काठमाडौं जिल्लाका १ सय ९० जना रहेका छन्।त्यस्तै ललितपुर ६७ र भक्तपुरमा ४१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।त्यस्तै सर्लाहीमा १०३ र चितवनमा ७१ जनामा सङ्क्रमण भएको छ।

प्रवक्ता डा.गौतमका अनुसार अहिले देशभरि १७ हजार ८ सय २२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १० हजार ७ सय १ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार १ सय २१ जना घरमै छन्।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

सो अवधिमा ५ सय ८८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभएको छ। अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।

देशभरि क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना छन्।

सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १ सय ३२ जना सघन उपचार कक्षमा र १६ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयतले भदौ ११ गते बिहीवार १ हजार १ सय ११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।

त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो।

Share Now

Leave a comment.