Prakash Adhikari August 31, 2020

 

नयाँदिल्ली (भारत), १५ भाद्र । कोमा रहनुभएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

उहाँका सुपुत्र  भारतीय राष्ट्रिय कांग्रेसका सदस्य तथा पूर्व सांसद अभिजित मुखर्जीले ट्रवीटरमार्फत यसको जानकारी दिनुभएको छ ।

” निकै भारी हृदयले तपाईहरुलाई सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको सवोत्तम प्रयास र भारतभरका नागरिकहरुको प्रार्थना र दुआको बाबजुद मेरा पिता प्रणव मुखर्जी भर्खरै बित्नुभएको छ ” ,उहाँले भन्नुभएको छ ।

पूर्व राष्ट्रपति मुखर्जी ८४ बर्षका हुनुहुन्थ्यो ।

उहाँको भारतको राजधानी नयाँ दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा तीन सातादेखि अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

अस्पताल भर्ना भएदेखि नै उहाँको स्वास्थ्य गिर्दो थियो । उहाँको स्वास्थ्यमा कुनै सुधार वा सकारात्मक परिवर्तन ल्याउन चिकित्सकहरु असमर्थ रहेका थिए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि यही अगस्ट १० तारिखका दिन उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

उहाँमा कोरोना संक्रमणसमेत देखिएको चिकित्सकहरुले बताएका थिए।

उहाँका स्वास्थ्य अवस्था गम्भीर भएकोले कोमामा राखिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको थियो ।

मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन अस्पतालमा शल्यक्रियाका लागि पुग्नुभएका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

कोभिड १९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार उहाँलाई सघन उपचार कक्षमा सारिएको थियो।

उहाँ सन् २०१२ देखि २०१७ सम्म गणतन्त्र भारतका राष्ट्रपति हुनुहुन्थ्यो ।

राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री जस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरिसक्नुभएको थियो।

उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गर्नुभएको थियो।

Share Now

Leave a comment.