Prakash Adhikari August 31, 2020

 

लद्दाख(भारत), १५ भाद्र (बीबीसी) । भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ।

चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ।

भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर उक्त क्षेत्रलाई अखण्ड राख्न प्रतिबद्ध भएको उल्लेख छ।

चीनका विदेशमन्त्रीले चिनियाँ सेनालले सीमा रेखा पार नगरेको र दुवै देशका सेनाबीच संवाद कायम रहेको बताएको ग्लोबल टाइम्स पत्रिकाले लेखेको छ।

भारत-चीन सीमा
गत जुन महिनामा भारत र चिनियाँ सैनिहरूबीच गलवान उपत्यकामा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले आफ्नो पक्षमा कति जना हताहत भए भन्ने सार्वजनिक गरेको छैन।

दुवै पक्षले एकअर्कालाई सीमा उल्लङ्घन गरेको र उक्साएको आरोप लगाएका थिए।

घटना के हो ?
अगष्ट २९ गते राति पाङ्गोङ त्सो तालको दक्षिणी किनारमा चिनियाँ पक्षले गर्न खोजेको गतिविधि भारतीय सेनाले तुहाइदिएको दिल्लीको दाबी छ।

भारतीय सेनाका अनुसार चीनको पिपल्स लिबरेशन आर्मीले सीमामा यथास्थिति फेर्न खोज्दा सतर्क भारतीय सैनिकहरूले त्यसो गर्न दिएनन्।

अहिले पूर्वी लद्दाखमा ठूलो सङ्ख्यामा चिनियाँ सैनिकहरू भएको बताइन्छ।

भारतीय पक्षले आफू शान्तिवार्ताका लागि प्रतिबद्ध भएको तर आफ्नो भौगोलिक अखण्डताको रक्षा पनि गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

भारतले सीमामा भएको विषयबारे विज्ञप्ति निकाल्नुलाई विश्लेषकहरूले सीमामा शान्ति भङ्ग भइसकेको सङ्केतका रूपमा लिएका छन्।

गलवान

तनावको कारण के हो ?

भारत र चीनबीच ३ हजार ५ सय किलोमिटर लामो सीमा छ। दुई देशबीच सीमाबारे विवाद पनि छ।

सीमासम्बन्धी विवादकै कारण सन् १९६२ मा भारत(चीन युद्ध भएको थियो।

जुनमा भएको घटनापछि दुई पक्षबीच शान्ति कायम गर्न धेरै चरणमा वार्ताहरू भए। तर तनाव अझै बाँकी छ।

केही समययता विभिन्न कारणले दुई देशबीच तनाव बढेको छ। तर तीमध्ये दुवै पक्षका रणनीतिक लक्ष्यलाई मूल कारण मानिएको छ। दुवैले विवाद बढ्नुमा एकअर्कालाई दोषारोपण गर्ने गरेका छन्।

द्वन्द्व बढे दुर्गम लद्दाखको सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको नयाँ सडकबाट भारतीय पक्षले जनशक्ति र सामग्री शीघ्र पठाउन सक्ने विश्लेषकहरूको भनाइ छ।

उक्त क्षेत्रमा भारतले भौतिक पूर्वाधार बनाउने निर्णय गरेपछि चीन आक्रोशित भएको हुनसक्ने विश्लेषकहरूको धारणा छ।

लद्दाखमा भारतीय सेना
लद्दाखमा भारतीय सेना

विवादबारे भारतीय अधिकारीहरू

गत साता भारतका विदेशमन्त्री एस जयसङ्करले चीनसँगको वास्तविक नियन्त्रण रेखामा सन् १९६२ पछि अहिले सबैभन्दा गम्भीर तनाव उत्पन्न भएको बताउनुभएको थियो।

पैँतालीस वर्षपछि चीनसँग सङ्घर्ष हुँदा सैनिकहरू हताहत भएको भन्दै उनले सीमामा दुवै देशका सैनिकहरू परिचालित हुनु अप्रत्यासित भएको टिप्पणी गरेका थिए।

“विगत तीन दशकलाई हेर्दा विवादहरूको समाधान राजनीतिक संवादको माध्यमबाट भएको छ। अनि अहिले पनि हामी त्यही प्रयास गर्दैछौँ,” उहाँको भनाइ थियो।

यसअघि भूतपूर्व सेनाप्रमुख बिपिन रावतले दुई देशबीच वार्ता भइरहेको अनि त्यसबाट विवाद समाधान नभए सैन्य विकल्प भएको बताउनुभएको थियो।

भारतले चिनियाँ पक्षले यथास्थिति बहाल गर्नुपर्ने र भारतीय क्षेत्रबाट चिनियाँ सैनिकहरू फर्किनुपर्ने बताउँदै आएको छ।

गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ताले चिनियाँ सेना फर्किए स्थिति सामान्य हुनसक्ने बताएका थिए।

Share Now

Leave a comment.