काठमाडौं, १६ भाद्र । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४० हजार ५ सय ९९ पुगेको छ।
मङ्गलवार अपराह्ण आयोजित दैनिक प्रेस भेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ३९ पुगेको छ।
मङ्गलवार मन्त्रालयले पुष्टि गरेका मृतकहरूमा एक जना महिला र १० जना पुरुष रहेका छन्।
तीमध्ये पर्साका तीन जना, काठमाडौं र महोत्तरीका दुई / दुई जना एवम् बारा, सिरहा, चितवन र मकवानपुरका एक / एक जना रहेका छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार अहिले १ हजार भन्दाबढी संक्रमित भएका जिल्लाको संख्या ४ छ भने ८ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं, रौतहट, सर्लाही र मोरङमा १ हजारभन्दा बढी संक्रमित रहेका छन् भने सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, चितवन, ललितपुर र रूपन्देहीमा ५ सयभन्दा बढी संक्रमित रहेका छन् ।
मङ्गलवार काठमाडौं जिल्लामा सर्वाधिक ३ सय ९३ सङ्क्रमित फेला परे भने ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ।
अहिले देशभरि १८ हजार १ सय १२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १० हजार ८ सय ३२ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार २ सय ८० जना घरमै छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
विगत २४ घण्टामा ७ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू अर्थात् २२ हजार १ सय ७८ जना निको भइसकेका छन्।
देशभरि क्वारेन्टाइनमा ७ हजार ३ सय ९० जना छन्।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १ हजार १ सय ११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक एक हजार नाघेको थियो।


















