काठमाडौं, २० भाद्र । विगत २४ घण्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने यस घातक भाइरसको कारण थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी भएको यो लगातार पाँचौँ दिन हो भने विगत १० दिनमा सातौँ पटक हो।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४५ हजार २ सय ७७ पुगेको छ।
अहिलेसम्म २७ हजार १ सय २७ सङ्क्रमित निको भइसकेका छन् भने २ सय ८० जनाको मृत्यु भएको छ।
बिहीवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रिफिड.मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले देशभरि १७ हजार ८ सयय ७० सक्रिय सङ्क्रमित भएको बताउनुभयो।
तीमध्ये ८ हजार ४ जना घरमै र ९ हजार ८ सय ६६ जना संस्थागत आइसोलेशनमा छन्।
गएको पाँच दिनमा ५ हजार ८ सय १७ सङ्क्रमित थपिएको, ५ हजार ७ सय १७ जना निको भएको र ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमितहरू कहाँका ?
अहिले थपिएका सङ्क्रमित विभिन्न जिल्लाका हुन्।
नयाँ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका ४ सय ८ जना छन्।
तीमध्ये काठमाडौंका ३ सय २६ जना, ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना छन्।
त्यसैगरी रूपन्देहीमा ७१ जना सङ्क्रमण देखिएको छ।
थपिएका सङ्क्रमितमध्ये ६ सय ९२ जना पुरुष छन्।
मृतक कहाँका ?
मृतकहरूमध्ये तीनजना काठमाडौं जिल्लाका रहेका छन्। ती सबै पुरुष र ४१ देखि ६५ वर्षका रहेका छन्।
अन्य मृतकहरूमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासी पूर्वकी ३५ वर्षीया महिला हुन्।
त्यस्तै पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रूपन्देहीका ४० वर्षीय पुरुषको पनि सोही अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।
थप जानकारी
सो अवधिमा १ हजार ५ सय ६६ सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो।
अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ६० प्रतिशत अर्थात २७ हजार १ सय २७ सङ्क्रमितहरू निको भइसकेका छन्।
देशभरि क्वारेन्टाइन्मा ६ हजार ७ सय ४९ जना छन्।
अघि भदौ १७ गते १ हजार १ सय २० जनामा, भदौ १४ गते १ हजार २ सय २१ जनामा र भदौ ११ गते १ हजार १ सय ११ जनामा देखिएको पुष्टि गरेको थियो।
त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक एक हजार नाघेको थियो।(बीबीसी)


















