Prakash Adhikari September 10, 2020

 

काठमाडौं, २५ भाद्र । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गर्नुभएको छ ।

दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार सैनिक मुख्यालयमा आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गर्नुभयो ।

शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गर्नुभयो ।

“संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेका छौँ ।”

शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्वपूर्ण रहने बताउँदै उहाँले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो सङ्गठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

सेनाको लोकतान्त्रीकरण गरी व्यावसायिक रुपमा अगाडि बढाउँदै लगिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नागरिक सर्वोच्चताको बारेमा सबैको बुझाइ एउटै हुनुपर्ने बताउनुभयो । देशका सबै जिल्लामा सेनाको उपस्थिति रहँदा स्रोत र साधन अपर्याप्त हुने हुँदा सेनाको व्यारेक स्तरोन्नति र स्तरीकरण गर्ने दीर्घकालीन सोचसहित प्रदेश नं २ को बर्दिवासमा एकीकृत व्यारेक प्रणाली शुरु गरिएको र यसै वर्ष घनगढीमा पनि कार्यारम्भ हुन लागेको जानकारी दिनुभयो ।

Nepali Army | नेपाली सेना

प्रधानसेनापति थापाले सेनाको महत्वबारे नागरिकलाई अनुभूत गराउन नागरिक सैनिक सम्बन्धलाई गहिरो बनाउन विभिन्न तहमा अन्तरक्रिया र सामाजिक कार्यलाई तीब्रता दिइएको उल्लेख गर्नुभयो।

उहाँले राष्ट्रिय सुरक्षा र नागरिकको सूचनाको हक अन्तरसम्बन्धित रहेको बताउँदै पारिस्परिक सम्बन्ध र समन्वयबाट मात्रै राष्ट्रिय लक्ष्य हासिल हुन सक्ने बताउनुभयो ।

मिडिया र सैनिकबीचको सम्बन्धलाई घनिष्ट तुल्याउन केन्द्रदेखि बाहिनीपति र युनिट तहसम्म उपयुक्त संस्थागत संरचना निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो ।

सन्तुलित, खोजपूर्ण र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उहाँले नागरिकले अपेक्षा गरेको सेना बनाउन सञ्चार क्षेत्रले पनि मियोको रुपमा काम गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ को नियन्त्रणमा आइसोलेन, क्वारेन्टाइन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत विभिन्न कार्यमा सेनाले अन्य सुरक्षा अङ्ग र सरकारी निकायसँगको सहकार्यमा कार्यहरु गर्दै आएको बताउनुभएको छ ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा औषधि आयातको क्रममा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “सरकारको निर्णयवमोजिम नै रक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार प्रक्रियागतरुपमा खरिद गरिएको हो, यसमा कुनै द्वीविधा छैन ।”

कोभिड नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो भन्ने अर्को जिज्ञासामा प्रधानसेनापतिले भन्नुभयो, “सेना राष्ट्रिय विपद्को अवस्थामा परिचालन गरिनुपर्छ, अहिले पनि राज्यलाई त्यस्तो महसुस भएको खण्डमा सेना परिचालन हुन सक्दछ ।”

Birendra Peace Operations Training Center High Resolution Stock Photography and Images - Alamy

Share Now

Leave a comment.