काठमााडौं, २४ भाद्र। प्रजातान्त्रिक विचार समाजले नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित नेता वीपी कोइरालको आदर्शले नेपाली कांग्रेसका नेताहरुलाई नेपालमा लोकतान्त्रिक संसदीय व्यवस्थाको स्थापना र विकासको लागि स्थापित भएको नेपाली कांग्रेस पार्टीलाई विधिसम्मत ढंगबाट अगाडि बढाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको १०७ औं जन्म जयन्तीका अवसरमा एक विज्ञप्ति प्रकाशित गर्दै समाजका अध्यक्ष केदार नरसिंह के.सीले अहिले काँग्रेसका कतिपय निर्णयहरु पार्टी विधान विपरित हुन थालेको स्मरण गराउदै त्यस्ता निर्णयको विरुद्धमा काँग्रेस केन्द्रीय कार्यसमितिकै तर्फबाट विरोध गर्नुपर्ने अवस्था आउनु निश्चय नै दुःखद् पक्ष भएको उल्लेखग गर्दैै भन्नुभएको छ, बीपी जयन्तीको यस अवरमा पार्टीमा देखिएका विवाद र भागबण्डाको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई विधिसम्मत ढंगबाट अगाडि बढाउने प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।
उहाँले आफ्नो विज्ञप्तिमा सिद्धान्तनिष्ठ र सच्चा राष्ट्रवादी नेता बीपी कोइरालाको त्याग र सङ्घर्षले राणा शासन र पञ्चायती निरंकुशताको अन्त्य गराएको कुरा पुनः स्मरण गराउदै त्यही विचार र दृष्टिकोण मुलुकलाई प्रजातान्त्रिक समाजवादको दिशामा अघि बढाउने मार्गचित्र बनेको उल्लेख गर्नुभएको छ।
अध्यक्ष के.सी.ले भन्नुभएको छ, ‘अहिले पनि बीपीका राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तन मुलुकको विकासका लागि सान्दर्भिक छन् । यसलाई पूरा गराउने कार्यमा बीपी विचारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले अगुवाई गर्नुपर्दछ ।’
समाजले नेपाल यतिबेला धेरै किसिमको समस्यामा जेलिएको उल्लेख गर्दै विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट नेपाल र नेपालीलाई जोगाउन सरकार असमर्थ रहेको बताउदै यसबाट सजग र सचेत रहन आम नागरिकलाई अपील गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकार स्वाथ्य सामग्री खरिददेखि लिएर, क्वारेन्टाइनको व्यवस्थापन, आइशोलेशन कक्ष तथा कोरोना सङ्क्रमितहरु र राहत वितरण जस्ता कार्यमा सरकारको भूमिका प्रभावकारी हुन सकेको उल्लेख गर्दै समाजले भनेको छ,’यो अवस्थामा प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसको तर्फबाट जुन किसिमले खवरदारी गर्नुपर्ने हो त्यो हुन सकेको छैन । यस सङ्कटकोबेला काँग्रेस आन्तरिक विवादमा रुमलिरहेको देखिन्छ ।’
समाजले मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी विधि र पद्दतिमा हिडेर अरु दललाई समेत यस विपरित नहिड्न सचेत गराउनुपर्नेमा आफैले विचलित भैरहेको उल्लेख गर्दै भनेको छ,’निश्चय पनि लोकतान्त्रिक पार्टीमा कुनै पनि विचारलाई लिएर छलफल र बहस हुनसक्दछ , तर विधि र प्रक्रिया नाघेर कुनै निर्णय हुन सक्दैन ।’
प्रजातान्त्रिक विचार समाज पनि प्रजातन्त्रको मूलभूत आदर्श र मान्यताहरुको अभिवृद्धि गराउन, संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गर्न – गराउन,लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संसदीय पद्धतिलाई संस्थागत गर्न उद्धेश्यका साथ वि सं २०५२ सालमा विधिवत रुपमा खडा भएको संस्था हो । यसले नेपालका लोकतन्त्रको स्थापना र विकासमा लाग्नुभएका युगपुरुषहरुको बारेमा पुस्तकहरु पनि प्रकाशित गर्दै आएको छ ।


















