काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताले झण्डै साढे ५ दशक लामो संघर्ष र बलिदानबाट संविधानसभामार्फत बनाएको संविधानको अक्षर र भावना विपरित वर्तमान सरकारका गतिविधि सञ्चालन भएकोका गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।
संविधान दिवसका उपलक्ष्यमा शनिवार दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ,’ संविधानको सफलताका लागि बांकी कार्यभारहरु पूरा गर्ने भन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइ रहेकोछ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु ।’
उहाँले थप्नुभएको छ, ‘प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरु, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र ब्यवहार, प्रदेश र स्थानीय सरकारहरुलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरु, संवैधानिक अंगहरुको गरिमा अन्त्य गर्ने ढंगले गरिएका ब्यवहारहरु, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलतातर्फ मुलुकलाई लैजान सक्दछ ।’
उहाँले प्रधानमन्त्री के.पी.शर्मा ओली र उहाँको नेतृत्वमा रहेको सरकारलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्न अपील समेत गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गर्दै भन्नुभएको छ,’ संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको ब्यवहार जरुरी हुन्छ ।’
नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभएको छ, ‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरु क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तिन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ ।’
नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि बताउदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले भन्नुभएको छ, ‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।’
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिमा रहेको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएकोमा चिन्ता प्रकट गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले अनेक चुनौतीका बावजुद यो संविधानको सफलता संग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प जरुरी भएको पनि बताउनुभएको छ ।
उहाँले संविधान दिवसका उपलक्ष्यमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली पनि अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुलाई शुभकामना प्रकट गर्नुभएको छ ।