दुबाई(संंयुक्त अरब इमिरेट्सं), ५ असोज । संयुक्त अरब इमिरेट्स(युएई)मा भैरहेको भारतको सबैभन्दा प्रतिष्ठित घरेलु क्रिकेट लिग आइपीएलको १३ औं संस्करण अन्तरगत आइतबार सम्पन्न दोश्रो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध दिल्ली क्यापिटल्सले किंग्स् ११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्यको सामना गरेको पन्जाबले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो ।
आईपीएल इतिहासमा खेल सुपर ओभरमा पुगेको यो १० औं पटक हो।
सुपर ओभरको ३ बलमा २ विकेट गुमाएर मात्र २ रन मात्र बनाउन सक्यो। पहिलो बलमा केएल राहुलले २ रन बनाए। दोश्रो बलमा रबाडाले राहुललाई क्याच आउट गराए। लगत्तै बलमा रबाडाले निकोलस पुरनलाई बोल्ड गर्दै पन्जाबलाई २ रनमै सीमित गरे।
पञ्जाबले दिएको ३ रनको लक्ष्य दिल्लीले २ बलमै पूरा गर्यो । मोहम्मद शामीले पहिलो बल डट गरेता पनि दोश्रो बलमा वाइड दिए। त्यसपछिको बलमा रिशभ पन्तले २ रन लिंदै खेल जिताए।
आईपीएलमा कुनै पनि टिमले सुपर ओभरमा बनाएको यो नै सबैभन्दा कम योगफल हो। यस अघि राजस्थान रोयल्सले २०१५ र गुजरात लायन्सले २०१७ मा ६ रन बनाएका थिए। दुवै अवसरमा मुम्बईका बलर मिचेल जोन्सनले बलिंग गरेका थिए।
पञ्जाबको दुर्भाग्य
जितको लागि अन्तिम ओभरमा १३ रन आवस्यक रहेको बेला मायाँक अग्रवालले पहिलो बलमा छक्का तथा तेश्रो बलमा चौका प्रहार गरेका थिए। २ बलमा जित्न १ रन मात्र आवस्यक रहेको बेला स्टोइनिशले ओभरको चौथो बलमा डट गरे भने त्यसपछि लगातार २ बलमा अग्रवाल र क्रिस जोर्डनको विकेट लिंदा खेल बराबरीमा पुगेको थियो।
पञ्जाबको तर्फबाट ओपनिंग ब्याट्सम्यान मायाँक अग्रवालले ६० बलमा ७ चौका र ४ छक्काको सहायताले सर्वाधिक ८९ रन बनाए भने कप्तान केएल राहुलले २१, क्रिस्नप्पा गौतमले २० तथा सरफराज खानले १२ रन बनाए। क्रिस जोर्डनले ५, करुण नायरले १, तथा ग्लेन म्याक्सवेलले १ रन बनाए।
पञ्जाबलाई रोक्ने क्रममा दिल्लीका बलर रविचन्द्रन आश्विन, मार्कस स्टोइनिस र कागिसो रबाडाले समान २ । २ विकेट लिएका थिए ।
दिल्लीको प्रदर्शन
यस अघि टस हारेर पहिले ब्याटिड. गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।
दिल्लीको लागि मार्कस स्टोइनिसले २१ बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५३ रन बनाए भने कप्तान श्रेयस ऐयरले ३२ बलमा ३ छक्काका मद्दतले ३९, रिशभ पन्तले २९ बलमा ४ चौकाको मद्दतले ३१ रन जोडेका थिए । त्यस्तै शिमरन हित्मयेर ७, रविचन्द्रन आश्विन ६, पृथ्वी साह ५, अक्षर पटेल ४ र अन्रिच नर्टजेले ३ रन बनाएका थिए ।
दिल्लीलाई रोक्ने क्रममा पञ्जाबका महोम्मद सामीले ३, सेल्डन कोर्टेलले २ र रवि विस्नोइले १ विकेट लिए ।
आइतबारको पहिलो खेलमा दिल्लीका कप्तान श्रेयश ऐय्यरले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भने मौका दिएनन् ।
सीपीएल २०२० मा उत्कृष्ट प्रदर्शन गरेर ट्रिनिडाड एण्ड टोवाकोबाट आईपीएलका लागि दुर्बइ पुगेका सन्दीप एक हप्ता क्वारेन्टाइनमा बसेका थिए । कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिवारको अभ्यासमा सरिक भएका उनलाई आगामी खेलमा मौका मिल्ने अपेक्षा गरिएको छ ।
लिग अन्तर्गत सोमबारको खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७ : ४५ बजे सुरु हुनेछ।
दिल्लीले आगामी खेल शुक्रबार चेन्नाई सुपर किंग्स बिरुद्ध खेल्नेछ।


















