Prakash Adhikari September 21, 2020

नेत्र केसी /बीबीसी न्यूज नेपाली

काठमाडौं, ५ असोज । हाललाई सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनको अनुमति दिइएको छ।

छ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान सोमवारबाट सुरु गर्दा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारिएको उड्डयन अधिकारी एवं वायुसेवा सञ्चालकहरूले बताएका छन्।

स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुको भनाई छ।

यसअघि असोज १ गतेबाटै आन्तरिक उडान सुरु गर्ने भनिए पनि सरकार र वायुसेवा सञ्चालकहरूबिच पहिले भनिएको आधा मात्र यात्रु बोक्ने बिषयमा कुरा नमिल्दा उडान हुन सकेको थिएन।

मापदण्ड
नेपाल वायुसेवा सञ्चालक सङ्घका महासचिव मनोज कार्कीका अनुसार आफूहरूले पूर्ण क्षमतामा समेत यात्रुहरू सुरक्षित रूपले उडाउन सक्ने गरि तयारी गरेको कुरा सरकारलाई आश्वस्त पारेपछि अवस्था फेरिएको बताउँछन्।

कार्कीको भनाइ छ: “विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले बनाएका मापदण्ड अनुसार उडान अघि, उडानभर र उडानपछि हुनुपर्ने कामका रूपरेखामा कर्मचारीहरूलाई तालिम दिइसकेका छौँ।”

तर अब विमानस्थलमा एकपटकमा बढीमा ३ वटा उडानका यात्रुहरुलाई मात्र लैजाने गरी प्रवन्ध मिलाइएको बताइएको छ।

त्यसले यात्रुहरू उडानमा जानुअघि बस्ने ठाँउमा पनि विगतको भन्दा दुरी कायम गर्न सघाउने अधिकारीहरूको भनाइ छ।

वायुसेवा सञ्चालक सङ्का महासचिव कार्कीले भन्नुभयो “आइकाओको मापदण्डमा जोखिम श्रेणीका उडानलाई जसरी हेरिएको छ त्यसको तुलना गर्दा नेपालका लगभग उडान एकघण्टा भित्रकै भएकाले उडानकाबिच सङ्क्रमणको जोखिम कम देखिन्छ।”

Travel Safety Protocol and Precaution amid Pandemic
कोरोनाभाइरसपछि हवाई यात्रा कस्तो होला

उड्डयन अधिकारी एवं विमानसेवा सञ्चालकहरूका अनुसार आन्तरिक उडानमा हुने नयाँ प्रावधानहरू यस्ता छन्:

  • विमानस्थलमा प्रवेश गर्न यात्रुहरुले मास्क र सर्जिकल पञ्जा अनिवार्य लगाएको हुनुपर्ने र ती उडान अवधिभर पनि कायम हुनुपर्ने
  • विमानस्थलका कर्मचारी र यात्रुबिच सिधा सम्पर्क नहुनेगरी काउन्टरहरूको तय हुनुपर्ने
  • विमानस्थलमा जहाजसम्म लैजाने गाडीमा भिडभाड नहुनेगरी प्रबन्ध हुनुपर्ने
  • अत्यावश्यक नपरिकन ७० वर्ष माथिका व्यक्तिहरूलाई विमानमा यात्रा नगर्न आग्रह
  • विमानभित्र हुने पेय/खाजा जस्ता खानपानका सेवामा हाललाई रोक
  • विमानभित्र शौचालय प्रयोग नगर्न आग्रह
  • आवश्यक विवरण रेकर्डका लागि आफ्नै कलमको प्रयोग गर्नुपर्ने
  • यात्रुले पहिलेजस्तो ह्याण्डलगेज बोक्न नपाउने

‘कडा अनुगमन’

TIA expanding its capacity - myRepublica - The New York Times Partner,  Latest news of Nepal in English, Latest News Articles

सोमवारबाट नेपालका सबै चल्तीका विमानस्थलहरू खुला गरिएको छ।

प्रवक्ता क्षत्रीले त्यसको कडाइका साथ कार्यान्वयनका लागि अनुगमन संयन्त्र नै बनाइएको बताउनुभयो।

क्षत्रीले बताउनुभयो, “आन्तरिक विमानस्थलमा प्रबन्धकको नेतृत्वमा र नागरिक उड्ययन प्राधिकरणले अनुगमन गर्दैछ।”

प्राधिकरणका अनुसार सोमवार ३८ देखि ४० वडा उडान हुनेगरी अनुमति दिइएको बताइएको छ।

नेपालका सबै चल्तीका विमानस्थलहरू खुला गरिएको भए पनि विमानसेवाहरूले आफूले पाएको उडान कोटाको अनुपातमा त्यो कुन रूटमा कतिवटा उडान सञ्चालन गर्ने भन्ने निर्णय गर्न सक्नेछन्।

सेप्टेम्बर महिनाको अन्त्यसम्म कोरोनाभाइरसको सङ्क्रमणको क्रम हेरेर त्यसपछि उडानमा कसरी थपघट गर्ने भन्ने अर्को निर्णय हुने बताइएको छ।

आन्तरिक उडानहरु सुरु हुँदा आवागमन सहज हुने भए पनि यसले कोरोनभाइरस सङ्क्रमण बढाउने हो कि भन्ने चिन्ताहरु पनि व्यक्त भइरहेका छन्।

तर विमानसेवा सञ्चालकहरूले यसबिचमा गरेका चार्टर्ड उडानमा समेत यही मापदण्ड प्रयोग गर्दा त्यो प्रभावकारी देखिएको बताउने गरेका छन्।

 

Share Now

Leave a comment.