Prakash Adhikari September 24, 2020

 

सिमिकोट(हुम्ला), ८ असोज । नेपाल-चीन सीमा छुट्टयाउने ११ नम्बरको स्तम्भ भेटिएको छ ।

सिमानाको अनुगमनमा गएका नेपाली टोलीले दुई देशको सीमा छुट्याउने ११ नम्बरको सीमा स्तम्भ भेटाएका हुन ।

वि.सं. २०१९ सालमा नेपाल-चीन सीमामा गाडिएको स्तम्भ ५८ वर्षपछि भेटिएको हो ।

हुम्लाको लाप्चा नाकामा चीनले नेपालको सीमा मिचेर भवन निर्माण गरेको कुरा विभिन्न संचारमाध्यमबाट बाहिरिएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी सहित ३१ सदस्यीय टोली अनुगमनमा निस्किएको थियो ।

चिनियाँ सरकारी अधिकारीले आफूहरुले नेपाली भूमिमा भवन नबनाएको दाबी गरेपछि हराएको ११ नम्बरको सीमा स्तम्भ खोज्न टोली परिचालन गरिएको थियो ।

सीमा स्तम्भ खोज्न निस्केको टोलीले हिल्सा नाकाभन्दा झन्डै ५ हजार २ सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको बताएको छ ।

हराएको ११ नम्बरको सीमास्तम्भ करिब ६ दशकपछि भेटाइएको हो ।

नेपालको ११ नम्बरको सीमास्तम्भ नभेटिँदा चीनले उक्त सीमा स्तम्भ क्षेत्रमा संरचना बनाएको भ्रम फैलिएको थियो ।
स्थानीय बासिन्दाले समेत ती भवन नेपाली भूमिमा बनाएको बताउँदा विवाद उत्पन्न भएको थियो ।

परराष्ट मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी चीनले नेपाली भूभागमा भवन नबनाएको स्पष्ट पारेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले समेत नेपाल-चीन बीच कुनै सीमा विवाद नभएको बताएको छ ।

Share Now

Leave a comment.