दुबाई(संयुक्त अरब इमिरेट्स), ९ असोज । भारतको चर्चित टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तरगत शुक्रबार बेलुका भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ ।
श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले महेन्द्रसिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लिगमा लगातार दोश्रो जित दर्ता गरेको छ।
पहिलो खेलमा दिल्लीले किंग्स ११ पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। चेन्नाईको यो दोश्रो हार हो। पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेपछि राजस्थानसंग चेन्नाई १६ रनले पराजित भएको थियो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याउदा चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो।
आईपीएल इतिहासमा चेन्नाईविरुद्ध दिल्लीको यो सबैभन्दा ठूलो रन अन्तरको जित हो। चेन्नाई सन २०१३ र २०१९ मा ६० र ४६ रनले पराजित भएको थियो। २०१४ मा पञ्जाबसग चेन्नाई ४४ रनलेनै पराजित भएको थियो ।
चेन्नाईको कमजोर प्रदर्शन
१ सय ७६ रनको चेन्नाइले १ सय ३१ रनमात्र बनाउन सक्यो । ओपनर मुरली विजय १०, शेन वाटसन १४, ऋतुराज गायकवाड ५ रन बनाएर आउट भए। खेलमा फाफ डु प्लेसिसले ४३ रन, केदार जाधवले २६ रन कप्तान महेन्द्रसिंह धोनीले १५ रन, रभिन्द्र जडेजाले १२ रन र साम कुरानले एक रनको योगदान दिए ।
चेन्नाईलाई रोक्ने क्रममा दिल्ली क्यापिटल्सका कागिसो राबाडाले ३ ,एनरिक नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए । अमित मिश्रा तथा आभेस खान विकेटविहिन रहे।
दिल्लीको ब्याटिंग
दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।
दिल्लीको लागि प्लेयर अफ द म्याच चुनिएका ओपनर पृथ्वी शाँले ९ चौका र १ छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए। रिशभ पन्तले २५ बलमा ६ चौकाको मद्दतले अविजित ३७ रन बनाए भने शिखर धवनले ३ चौका र १ छक्काको मद्दतले २७ बलमा ३५ रन जोडे । कप्तान श्रेयस ऐयरले २२ बलमा २६ रन बनाए भने मार्कस स्टोनिसले ५ रनमा अविजित रहे ।
दिल्लीलाई रोक्न चेन्नाईका पियुष चावलाले सर्वाधिक २ विकेट तथा स्याम करनले १ विकेट लिए। जोश हेजलवुड , दिपक चाहर र रभिन्द्र जडेजा विकेटविहिन रहे।
सन्दीप फेरि बाहिरै
खेलमा दिल्ली क्यापिटलले नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई दोश्रो खेलमा पनि बाहिर राखेको छ। दिल्लीले रभिचन्द्रन आश्विन घाइते हुँदा उनको सट्टा अमित मिश्रालाई खेलायो,सन्दीपलाई मौका दिएन।
शुक्रबारको खेलमा दोस्रो जित हासिल गरेपछि दिल्ली क्यापिटल्स शीर्षस्थानमा पुगेको छ भने चेन्नाई अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ । समान २ अंक बटुलेको पञ्जाब, मुम्बई, राजस्थान, चेन्नाई र बैंगलोर नेट रन रेटको आधारमा क्रमशः दोश्रो देखि छैठौं स्थानमा रहेका छन् । एक एक खेलमा हार ब्यहोरेका सन राइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स सातौँ र आठौँ स्थानमा छ।

लिग अन्तर्गत शनिवार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।
दिल्लीले आगामी खेल हैदरावादबिरुद्ध सेप्टेम्बर २९ तारिखमा खेल्नेछ भने चेन्नाईले आगामी खेल अक्टोबर २ मा सनराइजर्स हैदरावाद बिरुद्ध नै खेल्नेछ।


















