काठमाडौं, १६ असोज । दशैँ-तिहारको समय पारेर बिहीवारदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरूलाई मागेजति अनुमति दिन थालिएको बताइए पनि अहिलेसम्म १४ वटा विमानसेवाले मात्र नियमित उडानका लागि अनुमति लिएको उड्डयन अधिकारीहरूले जनाएका छन्।
सामान्य अवस्थामा दैनिक एक सयको सङ्ख्यामा आउजाउ उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले प्रतिबन्ध खुकुलो पार्दा समेत तत्काल दैनिक केही समय दुईदेखि साढे दुई दर्जनको हाराहारीमा मात्र उडान हुने देखिएको अधिकारीहरूको भनाइ छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्नुहुन्छ “यतिखेर काठमाडौं विमानस्थल दैनिक २१ घण्टा खुलेको छ। विमानसेवाहरूले मागेजति उडान अनुमति पाएका छन्। तर सामान्य अवस्थाको नजिक आउने काम तत्काल सहज देखिंदैन।”
प्राधिकरणले हाललाई अक्टोबर २४ सम्मको लागि उडान तालिका सार्वजनिक गरेको हो।
त्यसबीचमा दैनिक १३ देखि १५ वटा अन्तर्राष्ट्रिय आगमन उडान हुने प्राधिकरणको तालिका छ।
पीसीआर अनिवार्य सर्त
नियमित उडानमा नेपाल आउने यात्रुहरूका लागि सरकारले बढीमा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।
जसमा यसअघि पीसीआर असहज भएको भन्दै चार्टर्ड उडानको मात्र अनुमति दिइएका कतार, साउदी अरब, कुवेत, ओमन लगायतका देशहरू समेत छन्।
काठमाडौं विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण भन्नुहुन्छ, “पीसीआर नेगेटिभ नभएको कुनै यात्रु नियमित उडानमा पाइएमा सम्पूर्ण यात्रुलाई क्वारेन्टाइनमा पठाइन्छ। पीसीआर गर्न नसक्नेहरूका लागि नियमित उडान गर्न नसक्ने ठाउँमा चार्टर्ड उडान समेत सुरु गरिनेछन्।”
अन्तर्राष्ट्रिय उडानमा यसरी खुकुलो बनाइँदा समेत भारतका विभिन्न शहरमा भने अझै नियमित उडान सुरु गरिएको छैन।
अधिकारीहरूले त्यसको कारण त्यहाँ उडानका लागि विमानसेवाहरूले चासो नदिनु भने नरहेको बताउँछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई भन्नुहुन्छ, “सरकारको खास चासो भारतमा बढिरहेको उच्च सङ्क्रमणसँग हो। त्यसलाई कसरी खोल्ने भनेर अहिले हामी समीक्षा गरिरहेका छौँ।”
भारतका नागरिक उड्डयनमन्त्री हरदिप सिंह पुरीले अगस्ट १८ मै एउटा ट्वीट गर्दै विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई स्वदेश ल्याउने कार्यक्रम एयर बबलु मार्फत् केही सीमित सङ्ख्यामा नियन्त्रित उडान गर्न नेपालसँग प्रस्ताव गरिएको जनाउनुभएको थियो।
यस कार्यक्रम अन्तर्गत नेपालीहरू समेत भारतबाट स्वदेश फर्कन पाउनेछन्।
यो साताको सुरुमा नेपालका उड्डयन अधिकारीहरूले मन्त्रिपरिषद्बाट त्यो पारित हुन लागेको बताएका थिए। तर त्यसयता बसेका दुईवटा मन्त्रिपरिषद्मा त्यसबारे कुनै निर्णय भएको छैन।
सामान्य अवस्थामा नेपालबाट ३२ गन्तव्यमा सिधा उडान हुने गरे तापनि अहिले तोकिएका उडानमा २२ गन्तव्य मात्र छन्।
धेरै उडान हुने थाइल्याण्डको ब्याङ्ककमा समेत अझै उडान खुला गरिएको छैन।
पर्यटकले उडान थपिएला ?
कात्तिक १ देखि विदेशी पर्यटकहरूलाई समेत नेपाल आउने अनुमति दिइए पनि त्यसमा रहेका जटिलताहरूले अझै त्यसले उडान सङ्ख्या बढाउने अवस्था नदेखिएको पर्यटन व्यवसायीहरूले बताउने गरेका छन्।
पदयात्रा र पर्वतारोहणका लागि विदेशी आउन दिइएको बताइए पनि उनीहरूलाई नेपाल आउनुअघि नै ७२ घण्टाभित्रको पीसीआर र ५ हजार अमेरिकी डलरको बीमा गरेको पत्र बुझाउनु पर्ने नियम तोकिएको छ।
काठमाडौंमा एक साता क्वारेन्टाइनमा बस्नुपर्ने होटलको समेत पहिले नै बुकिङ गरेको हुनुपर्नेछ भने क्वारेन्टाइनको पाँचौँ दिन फेरि पीसीआर जाँच गर्नुपर्नेछ।
ती मापदण्डलाई केलाउँदै एकजना आरोही एवम् लेखक एलन अर्नेटले आफ्नो ब्लगमा लेखेका छन्स् “मलाई लाग्छ नेपालजस्तो पर्यटनमा निर्भर देशमा सायद अहिले नजानु नै ठिक छ।”
त्यसैले तत्काल उडानको सङ्ख्या थप बढ्ने नदेखिएको अधिकारीहरूको भनाइ छ।
कोरोनाभाइरसपछि हवाई यात्रा कस्तो होला
नेपाल आउने विदेशीको औसत बसाइ दुई साताभन्दा कम रहेकोमा आधा समय क्वारेन्टानमा बस्नुपर्ने नियमले उनीहरूमा उत्साह नभर्ने व्यवसायीहरू बताउँछन्।
त्यसै त महङ्गिएको यतिबेलाको हवाई उडानमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाले यात्रा दोबरसम्म महङ्गो पार्ने व्यवसायीहरूको भनाइ पाइन्छ।
पछिल्ला वर्षमा नेपालमा विदेशी पर्यटकको दैनिक खर्च औसत ५० अमेरिकी डलर रहेको देखिन्छ।
मापदण्ड
यसरी यात्रु सङ्ख्या बढ्दा हुने जोखिम उच्च रहने भन्दै चिन्ता व्यक्त भइरहेका बेला विमानस्थलका अधिकारीहरूले यसअघि नै सरकार र अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणले तोकेका मापदण्डहरूकै कडा कार्यान्वयन गरिने जनाएका छन्।
यसअघि सरकारले दैनिक ५ सय अन्तर्राष्ट्रिय यात्रुको सीमा तोकेको थियो जुन पछिल्लो समय १ हजार ६ सयसम्म पुर्याएको थियो।
आन्तरिक उडानहरू समेत उल्लेख्य सङ्ख्यामा खोलिसकेको नेपालका लागि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसले समेत थप चाप सिर्जना गर्नेछ।
हालका मापदण्डमा मुख्य रूपमा भिडभाड कम हुनेगरी व्यवस्थापन, न्यूनोतम तापक्रम जाँच, सामान्य अवस्थामा हुने केही सेवाहरूमा बन्देज लगायत छन्।(बीबीसी)


















