Prakash Adhikari October 4, 2020

बुटबल(रुपन्देही), १८ असोज । प्रदेश नं ५ को राजधानी र नामाकरणको चकिएकोे विरोधलाई रोक्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई तोड्दै बुटबलमा ब्यापारी र स्थानीय नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरे पनि कर्फ्यू तोडेर आन्दोलनकारीहरु सडकमा उत्रेका छन्। आइतबार बिहान चौराहाबाट ठूलो संख्यामा आन्दोलनकारीहरु पुष्पलाल पार्कमा पुगेका छन्।

प्रदर्शनकारीहरुले बुटवलमा भएको अस्थायी राजधानीलाई स्थायी नै बनाउनु पर्ने माग गरेका छन् । शुक्रबारदेखि सुरु भएको विरोधपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति एक सूचना जारी गर्दै बुटवलस्थित प्रदेश सभा भवन, मन्त्रालय र मुख्य सरकारी कार्यालय रहेका स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

रुपन्देही प्रशासनले ५ जना भन्दा बढी जम्मा हुन नपाउने निषेधाज्ञा जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजे देखि २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र तोकेको थियो।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिकापथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मन्त्रालयहरु रहेको स्थान वरपर दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन रोक लगाउको छ। यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र भेला तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

प्रशासनले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघ संस्थाले विरोध प्रदर्शन गरेका छन् भने नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ।

बन्दका कारण जिल्लाका मुख्य सडकमा सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी र भित्री सडकमा छिटफुट सवारी भने चलेका छन्।

बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कुनै पनि हालतमा प्रदेश राजधानी सार्न नदिने बताउदे प्रस्ताव फिर्ता नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने दाबी गर्नुभयो।

राजधानी सार्ने निर्णयविरुद्ध प्रदर्शन सुरु भएपछि रुपन्देहीको सुरक्षा अवस्था कडा पारिएको छ। सैनामैना, देवदह लगायतका क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीले ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’लगायतका नारा लगाएका थिए।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही क्षेत्रमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

REPUBLICADAINIK | Nepali-Congress-Butwal - REPUBLICADAINIK

निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ।

प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्तावमा सहमति जुटाउन नेकपा संसदीय दलले आइतबार मध्याह्न १२ बजेलाई सर्वदलीय बैठक डाकेको छ। सर्वदलीय बैठक डाकेर छलफल गराउन निर्देशन दिएर मुख्यमन्त्री शंकर पोखरेल भने शनिबार नै काठमाडौं पुग्नुभएको छ ।

प्रदेशसभामा विपक्षी दलका नेता कांग्रेसका वीरेन्द्रप्रसाद कनौडियाले छलफलमा सहभागी भएर आफ्ना विचार व्यक्त गर्ने र विरोध जारी राख्ने बताउनुभएको छ।

बुटवलमा शनिबार कांग्रेसका प्रदेश सांसदसहित बसेको बैठकले प्रदेश सभा घेराउ गर्ने, रुपन्देही बन्द गर्ने र राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको थियो।

त्यस्तै बुटवल उद्योग वाणिज्य संघमा बसेको रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले राजधानी सार्ने निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नकालागि संघर्ष समिति समेत गठन गरेको थियो।

बैठकले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो।

बैठकको निर्णयअनुसार आज विरोध ¥याली प्रदर्शन गरिएको छ । यस्तै, अहिले दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ। सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अगाडि प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले जानकारी दिनुभएको छ।

यस्तै, व्यवसायीहरुले सोमबार नै प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न आह्वान गरेको छ । त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका विरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यवसायी तथा आम नागरिकलाई आह्वान गरिएको छ ।

रुपन्देहीका स्थानीय तहहरुले पनि राजधानी सार्ने निर्णयमा पुनर्विचार गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।

Share Now

Leave a comment.