काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधार र कोरोना भाइरसविरुद्ध प्रभावकारी रुपमा स्वास्थोपचार तथा रोकथामको माग राखेर अनसनमा बस्नुभएका निस्वार्थी सत्याग्रही डा. गोविन्द के.सी.सँग अविलम्ब वार्ता गरि माग पूरा गरेर उहाँको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गर्नुभएको छ ।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसका सभापति देउवाले डा. गोविन्द के.सी.को अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्नैतर्फ कुनै गम्भीर कदम नचालेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
आफ्नो अपीलमा काग्रेस सभापति देउवाले भन्नुभएको छ, चिकित्सा शिक्षामा सुधार देखि कोरोनाविरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन् ।
उहाँले जनभावना अनुरुप समाजका हरेक वर्गका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको स्मरण गराउदै सरकारका तर्फबाट शुरूवातमा डा. के.सी.प्रति दुव्र्यवहार गर्नु आपत्तिजनक भएको र अनशनपछि पनि संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुलाई शासकको अत्यन्त अनुदारवादी चरित्रको प्रदर्शनको नाम दिनुभएको छ ।
कांग्रेस सभापति देउवाले २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको र यस क्षेत्रमा देखिएका असंगतिलाई सुधार गर्न तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको स्मरण गराउदै आफ्नो नेतृत्वमा रहेको सरकारले डा.के.सीका मागहरु पूरा हुने गरी २०७४ साल कार्तिक २४ मा “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश” गरेको तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्दा आजको विषम स्थिति उब्जिएको स्मरण गराउनुभएको छ ।
कांग्रेस सभापति देउवाले वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ को साउनमा डा.के.सी.सँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ रोपिएकोले त्यसलाई सच्याउदै संवादमार्फत समस्याको समाधानमा पुगेर त्यसको इमानदारीपूर्वक कार्यानवयन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले डा. के.सी.को जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिनुभएको छ ।


















