काठमाडौं, १९ असोज। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज १० दिनदेखि भूमिस्थ भएको छ भने निगमले नियमित उडान गरिरहेको हंगकंगले निगमका उडानलाई दुई हप्ता उडान निषेध गरेको छ ।
नेपाल वायुसेवा निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार नाईन एन एएलजेड(9N-ALZ) कल साइनको मकालु नामको वाइर्डबडी विमानको पखेटा (फ्ल्याप)मा समस्या आएपछि यो जहाज थन्किएको हो ।
अघिल्लो शुक्रबार काठमाडौं-कुनमिङ उडान गरेको केही बेरमा नै जहाजको फ्ल्यापमा समस्या आएपछि जहाज फर्काएर सुरक्षित अवतरण गरिएको थियो।
यो जहाजको केही समय अगाडिमात्रै इण्डोनेशियामा सी चेक गरेर ल्याएको थियो । सी चेकपछि छिट्टै फ्यापमा समस्या देखा पर्नुलाई निगमको भ्रष्ट प्रशासनको कमजोरीको उपज मानिएको छ ।
अन्तर्राष्ट्रिय उडानका दुइमध्ये एउटा वाइडबडी जहाज ग्राउण्डेड हुँदा नियमित उडानहरु विलम्बित भएको बताइन्छ ।
यता निगमको जहाज चढेर हंगकंगमा अवतरण गरेका यात्रुहरुको पीसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएपछि हंगकंगले निगमका उडानहरुलाई दुई हप्ता हंगकंग उडान गर्न निषेध गरेको छ ।
निगमका एक उच्च अधिकृतले दिएको जानकारी अनुसार गत शुक्रबार अर्था २ अक्टोबरमा हंगकंग उत्रेका यात्रुहरुको कोरोना जाँच गर्दा ५ जनामा कोभिड १९ पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयन कार्यालयले नेपालका विमानको उडानमा प्रतिबन्ध लगाएको हो ।
त्यस अगाडि सेप्टेरम्बर २९ मा हंगकंग पुगेका यात्रुहरुको कोरोना भाइरसको संक्रमण परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा पनि आन्तरिक र बाह्य उडानमा यात्रा गर्ने यात्रुहरुले पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको प्रमाण पेश गर्नुपर्ने नियम राखिएको छ । तर नेपालको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका यात्रुहरु हंगकंगमा परीक्षण गर्दा पोजेटिभ देखिएकोले नेपालको परीक्षणको गुणस्तरमा पनि प्रश्न उठ्न गएको छ ।


















