Prakash Adhikari October 6, 2020

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २० असोज । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहनुभएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किनुभएको छ।

उहाँलाई अस्पताल भर्ना गरेर ३ दिन राखिएको थियो।

राष्ट्रपति ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताउनुभएको छ।

अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुग्नुभएका राष्ट्रपति ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्।

त्यसअघि ट्रम्पले ट्वीट गर्दै भन्नुभएको थियो, ‘साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।’

ह्वाइट हाउस पुगेपछि उहाँको एकल तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उहाँले मास्क फुकालेको देखिन्छ।

अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गर्नुभएको छ।

प्रश्न पन्छाउनुभयो

राष्ट्रपति ट्रम्पले ट्वीटमा भन्नुभएको छ, ‘मिथ्या समाचारले केवल मिथ्या चुनावी सर्वेक्षण देखाउँछन्।’

डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताउनुभएको थियो। उहाँले राष्ट्रपति ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उहाँ हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिनुभएको थियो।

परस्पर विरोधी विवरणहरूपछि राष्ट्रपति ट्रम्पको अस्वस्थताको गम्भीरताबारे प्रश्नहरू बाँकी नै छन्। ह्वाइट हाउसभित्र देखिएको सङ्क्रमणको दायराबारे पनि अझैँ अस्पष्टता छ।

अस्पतालबाट बिदा हुँदै उहाँले सबैलाई धेरै धन्यवाद भन्दै प्रश्नहरूको बेवास्ता गर्नुभएको थियो।

जसमा एकजना संवाददाताको प्रश्न थियो, राष्ट्रपति के तपाईँ सुपर स्प्रेडर हो ?

२० वर्ष अघिभन्दा राम्रो

राष्ट्रपति ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गर्दै भन्नुभएको थियो, ूहामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधी र ज्ञानको विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु।ू

अमेरिकामा कोभिड१९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन्। भाइरसबाट सङ्क्रमित २ लाख १० हजार अमेरिकीको मृत्यु भएको छ।

अस्पतालमा ट्रम्प
ह्वाइट हाउसका थप कर्मचारीहरू पनि सङ्क्रमित पुष्टि भएको छ।

राष्ट्रपति ट्रम्पसँग नजिक रहेका कम्तीमा १२ जनामा भाइरस पोजेटिभ देखिएको छ। त्यसमा कैयौँ कनिष्ठ कर्मचारी छन्।

यसअघि कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेकै बेला केही बेर गाडीमा बाहिर निस्किएको घटनालाई लिएर विज्ञहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले अस्पताल बाहिर रहेका समर्थकहरूप्रति आभार व्यक्त गर्न त्यसो गर्नुभएको थियो।

तर त्यसो गर्दा उहाँको सुरक्षाका लागि खटिएका सदस्यहरू जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको थियो। जसमा उनीसँग गाडीमा सवार व्यक्तिले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ।

Share Now

Leave a comment.