काठमाडौं, २२ असोज । नेपालमा कूल संक्रमितको संख्या १ लाखको निकट पुगेको छ भने यस घातक भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरुको संख्या पनि ५ सय ९ पुगेको छ ।विगत २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ह्वात्तै बढेको हो भने त्यस अवधिमा कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको पुष्टि हुन गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितको संख्यामा यो हालसम्मकै सर्वाधिक दैनिक वृद्धि हो । अहिले कूल संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।


बिहिबार थपिएका नयाँ सङ्क्रमितमध्ये २ हजार ५ सय जनाभन्दा बढी काठमाडौं उपत्यकाका हुन्।
नेपालमा हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या ७१ हजार नाघेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ हजार ६ सय ७५ जना रोगमुक्त भएका छन्।



गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।
बुधवार मन्त्रालयले ३ हजार ४ सय ३९ सङ्क्रमित फेला परेको र १५ जनाको मृत्यु भएको बताएको थियो।
अहिले देशभरि २६ हजार ६ सय ८४ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १४ हजार ९ सय ६७ जना घरमा र बाँकी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेशनमा छन्।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।
लाग्छ त लकडाउन ?
मन्त्रालयले यसअघि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार पुगे लकडाउन लगाउन सकिने सङ्केत गरेको थियो। के अब लडकाउन लाग्छ त ?
मन्त्रालयका प्रवक्ता गौतमले त्यसबारे अध्ययन भइरहेको र निर्णय हुन बाँकी भएको बताउनुभएको छ, “अध्ययन गर्दैछौँ, शय्या उपलब्ध हुन्जेल हामी लकडाउन गर्दैनौँ। शय्या बढाइरहेका छौँ, अस्पताल पनि थपिरहेका छौँ । के गर्ने भन्ने हामी हेर्दैछौँ हामीले निर्णय गरिसकेका छैनौँ।”
देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको ठम्याइ छ।
लकडाउनले “बिरामी सन्चो नहुने ” तर त्यसबाट बिरामीको सङ्ख्या भने केही कम हुने उहाँको तर्क छ।
“दुई हप्तामा बिरामी सन्चो हुन्छन् अनि नयाँ बिरामी राख्न सकिन्छ भनेर त्यसो गर्ने हो”, उहाँले बताउनुभएको छ ।
अन्य विवरण
विगत २४ घण्टामा १८ हजार ४ सय ७३ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।
अहिलेसम्म नेपालमा ७१ हजार ३ सय ४३ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.३ प्रतिशत हो।
गम्भीर लक्षण भएका २ सय ३५ सङ्क्रमित सघन उपचारमा र ४२ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित ?
अहिले विभिन्न ६८ जिल्लामा सङ्क्रमित फेला परेका छन्।
तीमध्ये काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १ सय ३५ जना गरी उपत्यकामा सर्वाधिक २ हजार ५ सय ४० जना छन्।
उपत्यकामा एक साताभित्र १० हजार भन्दाबढी सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
त्यसैगरी झापामा ५५, मोरङमा २ सय ४९, सुनसरीमा २ सय १४, मकवानपुरमा १ सय ५, चितवनमा ६९, धादिङमा ७१, दाङमा ५५, बाँकेमा ४६, रूपन्देहीमा १ सय ९९, सुर्खेतमा १ सय ६ र कैलालीमा ७५ जना छन्।
सङ्क्रमितमध्ये १ हजार ५ सय ६१ जना महिला र २ हजार ८ सय ३ जना पुरुष छन्।
को हुन् मृतक ?
विगत २४ घण्टामा कोभिड१९ सँग सम्बन्धित कारणले मृत्यु भएका सङ्क्रमितमध्ये चार महिला र आठ पुरुष छन्।
मन्त्रालयका अनुसार उनीहरू सुनसरी, धनुषा, काठमाण्डू उपत्यकाका तीनै जिल्ला, चितवन, कास्की र सुर्खेतका हुन्।
तीमध्ये एक जना ३९ वर्ष, एक जना ५८ वर्ष र ११ जना ७० देखि ९२ वर्षसम्मका सङ्क्रमित हुन्।(बीबीसी)


















