Prakash Adhikari October 8, 2020

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २२ असोज(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोभिड १९ को कुनै लक्षण नदेखिएको चिकित्सकहरूले जनाएका छन्।

त्यसअवधिमा ट्रम्प ज्वरोबाट पनि मुक्त रहेको उनीहरूको भनाइ छ।

राष्ट्रपतिका चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ।

कोन्लीले अस्पताल लगिएयता ट्रम्पलाई अतिरिक्त अक्सिजन दिन नपरेको जानकारी दिनुभयो। शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमवार फर्किएका थिए।

पछिल्लो स्वास्थ्य रिपोर्ट
ह्वाइट हाउसले जनाए अनुसार ब्रिफिङको निम्ति ट्रम्प ओभल कार्यालय फर्किनुभएको छ।

डा. कोन्लीले भन्नुभयो, ‘अक्सिजन र स्वासप्रश्वास दर लगायत सबै परीक्षण र महत्त्वपूर्ण सूचक स्थिर तथा सामान्य श्रेणीमा छन्।’

उहाँका अनुसार सोमवारको प्रयोगशालाको परिणामले राष्ट्रपतिमा कोरोनाभाइरसलाई परास्त गर्ने एन्टिबडी पहिल्याउन सकिने स्तरमा फेला परेको देखाएको छ। गत बिहिवार एन्टिबडी पहिचान गर्न नसकिने तहमा झरेको थियो।

शरीरले सङ्क्रमण विरुद्ध लड्न एन्टिबडी बनाउँछ र रगतमा कोरोनाभाइरस एन्टिबडी देखिनुले कुनै व्यक्तिमा भाइरस थियो भन्ने सङ्केत दिन्छ।

तर त्यसको उपस्थितिले उक्त व्यक्तिमा भाइरसको सङ्क्रमण फेरि हुन्छ कि हुन्न भन्ने अझै अस्पष्ट छ।

ट्रम्पको नयाँ भिडिओ

ओभल कार्यालय बाहिर छायाङ्कन गरिएको ट्रम्पको एउटा भिडिओ ह्वाइट हाउसले सार्वजनिक गरेको छ।

जसमा ट्रम्पले आफूलाई भएको कोरोनाभाइरस सङ्क्रमणलाई सुरुमा कठिन तर भगवानको आशिर्वादका कारण राम्रो भएको रूपमा लिएको बताउनुभएको छ।

पाँच मिनेटको भिडिओमा ट्रम्पले भन्नुभएको छ, ‘म सबै नागरिकलाई उस्तै उपचार दिइनुपर्छ भन्ने चाहन्छु जुन तपाईँको राष्ट्रपतिको रूपमा मैले पाएँ। किन कि मैले आराम महसुस गरिरहेको छु।’

उहाँले सबै सङ्क्रमितको निम्ति निशुल्क औषधी उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभएको छ।

अमेरिकी सञ्चार माध्यमहरूले उक्त भिडिओ एक दिन अघि सार्वजनिक गर्ने योजना रहेको तर उपराष्ट्रपतिका उम्मेद्वारहरूबीचको बहस हुनुभन्दा तीन घन्टाअघि सार्वजनिक गरिएको उल्लेख गरेका छन्।

चर्को बहस

उपराष्ट्रपति माइक पेन्स र उक्त पदको निम्ति डेमोक्र्याट उम्मेद्वार कमला ह्यारिसबीच सुरु भएको चुनावी बहसलाई ट्रम्प सङ्क्रमित भएपछिको ठूलो राजनीतिक महत्त्वको रूपमा हेरिएको छ।

ह्यारिस र पेन्स एक अर्कामाथि आक्रमक रूपमा प्रस्तुत भएका छन्।

ह्यारिसले ट्रम्प प्रशासनलाई ुदेशको इतिहासकै सबैभन्दा विफलु भन्नुभएको छ।

उनीहरूबीच चीनसँगको सम्बन्ध, कर नीति, जलवायु परिवर्तन, महामारी लगायतका विषयमा वाद प्रतिवाद भएको छ।

बहस सुरु हुनुअघि पेन्स र ह्यारिस दुवैको भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको थियो।

राष्ट्रपति ट्रम्प बिरामी परेकाले अब उहाँले कति चुनावी अभियान गर्न सक्नुहुन्छ भन्ने दुविधा उत्पन्न गरिदिएको छ।

Share Now

Leave a comment.