Prakash Adhikari October 8, 2020

 

जावलाखेल(ललितपुर), २२ असोज । अंकित मूल्यभन्दा बढीमा शेयर बेच्न पाउने गरी नेपाल धितोपत्र बोर्डले ल्याएको व्यवस्थाप्रति लागनीकर्तादेखि ठूला कम्पनीका शेयरधनीहरु समेत खुसी देखिएका छन् ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय ‌संस्था (आयस्को) को आह्वानमा विश्वभर मनाइएको विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित छलफल कार्यक्रममा पुँजी बजारसम्बद्ध लगानीकर्तादेखि उद्योगी व्यवसायीहरु समेत बोर्डले ल्याएको यो व्यवस्थाप्रति प्रशन्नता व्यक्त गरेका हुन् ।

लगानीकर्ता र उद्यमीहरुले यो व्यवस्थाले वास्तविक क्षेत्रका कम्पनीलाई पुँजीबजारमा आउन सहयोग गर्ने भन्दै यो व्यवस्थाको कार्यान्वयनमा जोड समेत दिएका छन् ।

बोर्डले आह्वान गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बुक विल्डिङको मूल्य प्रणालीमा जाँदा निजी क्षेत्रलाई बजारमा आफ्नो कम्पनीको अवस्थाबारे थाहा हुने र पारदर्शिता र उत्तरदायित्व समेत विकास हुने बताउदै यसले कम्पनीप्रतिको विश्वास समेत बढने बताउनुभयो ।

मोरले बुक बिल्डिङ प्रक्रियापछि अन्डरराइटर र बिक्री प्रबन्धकलाई समेत बढी उत्तरदायी बनाउनुपर्ने तथा सेबोनले गर्ने निर्णय समयमा गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।

त्यस्तै चौधरी ग्रुपका कार्यकारी सञ्चालक मनिषकुमार खेम्काले बोर्डले ल्याएको बुक विल्डिङले लामो समय दुःख गरेर बनाएको कम्पनीको शेयर १०० रुपैंयामा बेच्नुपर्ने अवस्था अन्त्य गरेको भन्दै नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीदेखि चौधरी ग्रुप अन्तर्गतका विभिन्न कम्पनी समेत दोस्रो बजारमा आउनसक्ने बाटो यसले खुला गरेको बताउनुभयो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले आफूहरुले लामो समयदेखि माग गरेको यो व्यवस्था आउनु राम्रो भएको भन्दै वास्तविक क्षेत्रबाट आउने कम्पनीको वित्तीय स्वास्थ्य विचार गरेर मात्रै बुक विल्डिङमा आउन दिने व्यवस्थागर्न आग्रह गर्नुभयो ।

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पुँजी बजारमा बुक विल्डिङको कारण नयाँ फड्को मार्ने अवसर सिर्जना भएको बताउनुभयो ।

धेरै समयदेखि चल्दै आएका कम्पनीले गरेको प्रतिफल दिने व्यवस्था गरेको भन्दै यो कार्यक्रम सफल भयो भने एनसेलजस्तो कम्पनीको समेत शेयर पाउने अवसर सिर्जना हुने बताउनुभयो । उहाँले शेयरको मूल्य निर्धारणमा मोनोपोलि हुने अवस्था सिर्जना हुन नदिन धितोपत्र बोर्डको ध्यानाकर्षण समेत गराउनुभयो ।

कार्यक्रममा बजार विज्ञका रुपमा रुपेश बैद्यले बुक विल्डिङको अन्तराष्ट्रिय अभ्यास र धितोपत्र बजारमा आउँदा सञ्चालक र सर्वसाधारण लगानीकर्तालाई हुने फाइदाबारे प्रस्तुति दिनुभएको थियो भने धितोपत्र बोर्डका तर्फबाट रुपेश केसीले बुक विल्डिङ प्रक्रियाको सञ्चालन कार्यविधिबारे विस्तृत ब्याख्या गर्नुभएको थियो ।

कार्याक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले पुँजीबजारलाई अर्थतन्त्रको ऐना मान्ने गरे पनि नेपालमा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व मात्रै धेरै रहेका कारण यसो हुन नसकिरहेको अवस्थामा बोर्डले यो व्यवस्थामार्फत् वास्तविक क्षेत्रलाई दोस्रो बजार प्रवेशको बाटो खुला गरेको बताउनुभयो ।

सोमबारदेखि सुरु भएको विश्व लगानीकर्ता सप्ताहको दिन बिहीबार बोर्डले धितोपत्र बजारमा स्वतन्त्र मूल्य निर्धारणका लागि जारी गरेको बुक बिल्डिङ कार्यविधिको सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेको थियो ।

बुक बिल्डिङको बिक्री व्यवस्था

कम्तीमा ३ वर्षदेखि नाफामा सञ्चालित भएका र नेटवर्थ चुक्ता पुँजीको डेढ गुणा भएका कम्पनीहरुले क्रेडिट रेडिङ एजेन्सीबाट न्यूनतम औसत ग्रेडिङ प्राप्त गरेमा महँगो मूल्यमा शेयर बेच्न बुक बिल्डिङ प्रक्रिया रोज्न सक्नेछन् ।

त्यसरी शेयर निष्कासन गर्न चाहने कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक समेतको सल्लाहमा कम्पनीको शेयरको आफ्नो आधारमूल्य गर्नको लागि कम्तीमा १० जना संस्थागत लगानीकर्तासँग छलफल गर्नुपर्ने व्यवस्था छ ।

त्यसरी छलफलबाट तय भएको आधारमूल्यको २० प्रतिशत तलमाथि हुनसक्ने गरी संस्थागत लगानीकर्ताबाट विडिङ गरिन्छ । त्यसरी विडिङ गर्ने शेयर संख्या कुल निष्कासनको बढीमा ४० प्रतिशत मात्रै हुने व्यवस्था गरिएको छ ।

त्यस्तो बिडिङबाट तय भएको कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारण लगानीकर्तालाई बाँकी ६० प्रतिशत शेयर बिक्री गर्नुपर्ने प्रावधान छ । यो विधिमार्फत् बिक्री भएको शेयरका हकमा सर्वसाधारण आवेदकले न्यूनतम ५० कित्ता शेयर पाउनेछन् । सो शेयरको प्रथम कारोबार मूल्य भने कटअफ मूल्य बराबर हुने जनाइएको छ ।

Share Now

Leave a comment.