काठमाडौं, १६ असोज । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष प्राध्यापक ई. सरोज देवकोटाको आइतबार निधन भएको छ ।
लामोसमयसम्म प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम केन्द्र(सीटीईभीटी)को प्रमुख भएर देशभर प्राविधिक शिक्षा विस्तारमा सहयोग पुर्याउनुभएका स्वर्गीय देवकोटा अत्यन्त सालिन र आफ्नो पेशामा एक सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो । नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा उहाँले उल्लेखनीय योगदान पु¥याउनु भएको थियो ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहनु भएका देवकोटाको देहावशानबाट नेपाली कांग्रेस र नेपालको इञ्जिनियरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय देवकोटाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभएको छ,“नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष प्रा. ई. सरोज देवकोटाको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ । इञ्जिनियरिङ क्षेत्रको एक सुपरिचित व्यक्तित्वको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । स्वर्गीय देवकोटाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”


















