Prakash Adhikari October 12, 2020

काठमाडौं, २६ असोज । गायक थिरज राईले एकपछि अर्को म्युजिक भिडियो दर्शक/श्रोतामाझ ल्याउनु भएको छ ।

उहाँको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो टीएनएसपीएम मिडियाले शनिबार साँझ युट्युबमार्फत सार्वजनिक गरेको छ ।

निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई भिडियोमा रोमान्स गराउनुभएको छ । यसमा सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको छ । गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिनुभएको छ ।

यो गजल उहाँको तेस्रो गीति एल्बम ‘निमन्त्रणा’मा समेटिएको थियो । उक्त एल्बम केही वर्षअघि नै बजारमा आए पनि यसको भिडियो ढिलो गरी आएको उहाँले बताउनुभयो।

https://youtu.be/GOBIR4-jtIs

‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उहाँले भन्नुभयो, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ । दर्शक/श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’

उहाँले हालै ‘उदासी’ बोल गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो । उक्त भिडियोमा पनि जोनलगायत कलाकारको अभिनय थियो । निर्देशक राईले स्रष्टाहरूको प्रतिभालाई सही तरिकाले मूल्यांकन गरिदिन दर्शक/श्रोतासमक्ष आग्रह गर्नुभएको छ ।

भिडियोको पोस्ट प्रोडक्सनको काम रेन्बो रेज मिडियाले गरेको छ ।

Share Now

Leave a comment.