स्टकहोम (स्वीडेन), २६ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्धय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले सोमबार एक कार्यक्रमका बीच यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरेको हो ।
उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’मा यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो । मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज भैरहेको एकेडेमीले बताएको छ ।
नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।
आजभोलि सार्वजनिक खरिद पनि लिलामीकै विधिबाट अपनाइने गरेको छ । सामान्यतया लिलामीमा मानिसहरुले बढी मोल कबोल गर्नेलाई सामान बिक्री गर्छन् भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन् । पुरातात्विक महत्वका पुराना बस्तु, कलालगायतका बस्तु मात्रै होइन, सुरक्षा, खनिज पदार्थ र ऊर्जालगायतका क्षेत्रमा पनि लिलामी प्रक्रियाबाट बस्तु तथा सेवाको खरिदबिक्री हुने गर्दछ ।
रोबर्ट विल्सनले एउटा साझा मूल्यका आधारमा बस्तुको लिलामी सिद्धान्तको विकास गर्नुभएको छ,जहाँ बस्तुको मूल्य पहिले अनिश्चित हुन्छ तर अन्त्यमा सबैका लागि समान हुन्छ । उहाँले रेडियो फ्रिक्वेन्सीको भविष्यको मूल्य वा कुनै विशेष क्षेत्रमा खनिजको मात्राको उदाहरण दिनुभएको छ ।
त्यस्तै पल मिलग्रोमले बोलकबोलमा साझा मूल्यलाई आधार मानिन्छ । सिद्धान्तअनुसार निजी मूल्य पनि बोलकबोल गर्ने व्यक्तिअनुसार फरकफरक हुनेछ ।
गत वर्ष भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जी, इस्तर डुफ्लो र माकइल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । उनीहरुको अनुसन्धानले वैश्विक गरिबीसँग लड्ने क्षमतामा सुधार भएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।
डायनामाइटका आविष्कारक बैज्ञानिक अल्फ्रेड बर्नहार्ट नोबेलको नाममा स्थापित नोबेल पुरस्कार सन् १९०१ देखि प्रदान गर्न थालिएको हो । अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६९ बाट दिइन थालेको हो । सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंक स्वेरिएस रिसबांकद्वारा स्थापित यो पुरस्कार पहिलो पटक अर्थशास्त्रीद्वय रागनार फ्रिस्च र जान टिन्बरजेनलाई दिइएको थियो ।


















