काठमाडौं, २ कार्तिक । नेपालमा विगत २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४ हजार ८ सय ७५ वटा नमूना परीक्षण गरिएको थियो।
आइतबार पुष्टि भएका सङ्क्रमितमध्ये १हजार ६ सय ९८ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको छ।
विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।
योसहित नेपालमा अहिलेसम्म ७ सय ३९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
सक्रिय सङ्क्रमितमध्ये ३ सय १ जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २ हजार ३ सय २६ सङ्क्रमित रोगमुक्त भएका छन्।
अहिलेसम्म ९२ हजार १ सय ६६ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.७ प्रतिशत हो।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
गत शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो।
त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।
कति छन् सक्रिय सङ्क्रमित ?
अहिले देशभरि ३९ हजार ३ सय ४१ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १२ हजार ९ सय ३३ जना संस्थागत आइसोलेशनमा र बाँकी २६ हजार ४ सय ८ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।
तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन्।
आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लाका १ हजार ४ सय ६९, भक्तपुरका ९९ र ललितपुरका १ सय ३० जना रहेका छन्।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाण्डू, भक्तपुर, चितवन, कास्की, बाँके, रूपन्देही र दाङ रहेका छन्।
मुस्ताङ जिल्लामा मात्र अहिले शून्य सङ्क्रमित रहेका छन्।(बीबीसीबाट)


















