Prakash Adhikari October 20, 2020

 

काठमाडौ, ४ कार्तिक । बडा दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा आरधना गरेर मनाइँदैछ ।

बडादशैं अन्तर्गत आजको दिन कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा देवी दुर्गाका शक्तिपीठहरूमा पुजापाठ हुने भएपनि यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ । त्यहाँ पूजारीहरुबाट नित्य पूजा मात्र हुँदै आएको छ ।

Share Now

Leave a comment.