काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले पाएको दशैं भत्ता बापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने भएके छ ।
सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्राप्त हुने ४३ लाख २० हजार ८१० रुपैयाँ संघीय संसदमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीका कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दभिक र उचित नभएकोले कांग्रेसकोतर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपलब्ध गराइएको दशैं भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गरेको जानकारी सार्वजनिक गर्नुभएको थियो ।



















