Prakash Adhikari October 20, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), ४ कार्तिक । भारतको चर्चित टी २० प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तर्गत सोमबार सम्पन्न ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर हासिल गरेको थियो।

Image

राजस्थानका जोस बटलरले ७०,कप्तान स्टिभ स्मिथले २६, बेन स्टोक्सले १९, रोबिन उथप्पाले ४ रन जोडेका थिए ।

राजस्थानलाई रोक्ने क्रममा चेन्नाईको बलिंगमा दीपक चाहरले सर्वाधिक २ तथा जोश हेजलवुडले एक विकेट लिए।

चेन्नाईको ब्याटिंग

Image

यस अगाडि टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।

चेन्नाईको ब्याटिंगमा रभिन्द्र जडेजाले सर्वाधिक अविजित ३५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका प्रहार गरे। महेन्द्र सिंह धोनीले २८, श्याम करनले २२, अम्बाती रायडुले १३, फाफ डु प्लेसीले १० तथा शेन वाटसनले ८ रन बनाएका थिए ।

चेन्नाईलाई रोक्ने क्रममा राजस्थानको बलिंगमा जोफ्रा आर्चर , कार्तिक त्यागी , श्रेयस गोपाल र राहुल तेवतियाले समान एक एक विकेट लिए।

अंकतालिका र आगामी खेल

सोमबारको जितपछि राजस्थान अन्तिम स्थानबाट उक्लदै ८ अंक सहित पाँचौ स्थानमा पुगेको छ। १० खेल खेल्दा राजस्थानले ४ जित र ६ हार ब्यहोरेको छ।

हारपछि चेन्नाई भने अंकतालिकामा पुछारमा पुगेको छ जसले १० खेलमा ३ जित र ७ हार बेहोरीसकेको छ। समान ६ अंक रहेता पनि हैदरावाद र पञ्जाब नेट रन रेटमा अघि रहँदै छैठौं र सातौँ स्थानमा रहेको छ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल मुम्बईविरुद्ध शुक्रबार तथा राजस्थानले हैदरावादविरुद्ध बिहिबार खेल्ने तालिका रहेको छ।

मंगलबारको खेलमा किंग्स ११ पन्जाब र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.