Prakash Adhikari October 20, 2020

 

धनगढी(कैलाली), ४ कार्तिक । धनगढीमा केराउ तस्करी गर्ने गिरोहले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेको प्रहरीले दावी गरेको छ ।

मंगलबार प्रहरीको उद्धार तथा खोजी समूहले मोहना नदीमा विगत तीन दिनदेखि हराइरहनुभएका प्रहरी जवान साउदको शव भेट्टाएपछि प्रहरीले सो दावी गरेको हो ।

प्रहरीले मंगलबार बिहान हराइरहेका प्रहरी जवान रामबहादुर साउदलाई मृत अवस्थामा मोहना नदीमा नै फेला पारेको थियो ।

यसअघि उनीसँगै गस्तीमा गएका प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको शव मोहना नदीमा फेला परेको थियो।

असई बिकको शवभन्दा २ सय मिटर पश्चिममा नदीमै जवान साउदको शव मंगलबार बिहान फेला परेको सूदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभएको छ।

शनिबार राति मोटरसाइकलमा गस्ती गएका दुई जना सम्पर्कबिहिन भएपछि प्रहरीले खोजिकार्य तीब्र बनाएको थियो।

असई बि.क.को शव आइतबार बिहानै फेला परेपनि जवान साउदको पत्ता लागेको थिएन ।

प्रहरीले केराउ तस्करी गर्ने समूह धनगढीको भएको दावी गरेको छ । एक गाडा केराउ लिएर भारततर्फ गइरहेको समूहले असई र जवानको हत्या गरेको प्रहरीको दावी छ।

धनगढी उपमहानगरपालिका १२ को जुगेडा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवानको शनिबार राति गस्तीमा निस्केको बेला हत्या गरिएको थियो। उनीहरु दुवैजना राति करिब ११ बजेदेखि सम्पर्कबिहिन भएकोले सोही समयमा हत्या भएको प्रहरीको दावी छ।

ती प्रहरी अधिकारीका अनुसार यस घटनामा प्रहरीले अवैध व्यापारमा संलग्न सात जनालाई समातेको छ। तीमध्ये एक जनाले प्रहरी जवान साउदको शव गाडेको स्थान देखाएका थिए।

तस्करी गर्ने समूह करिबमा करिब १०।११ जनाको भएको प्रहरीको अनुमान छ।

नेपालबाट केराउ लैजाँदै गरेको गाडा नियन्त्रण गर्ने क्रममा तस्करहरूले लाठी, फरुवा र उखु काट्ने खुर्पी प्रहार गरी हत्या गरेको पाइएको छ । दुबैको घाँटीमा निर्मम तरिकाले खुर्पी प्रहार गरेको देखिएको छ।

अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत असई बि.क तथा जवान साउद तस्करी नियन्त्रणमा खटिएका थिए ।

जुगेडा नेपालभारत सीमाना हो। भारततर्फ पलिया बजार छ। पलियाबाट वारि जुगेडा करिब ३० किलोमिटर टाढा पर्छ।

किराना सामान र कपडा अत्यधिक तस्करी हुने सो क्षेत्रको चौकीमा विक तीन महिनाअघि मात्र हाजिर हुनुभएको थियो।

नेपालमा क्यानडाबाट अनुदानको रुपमा आएको हरियो केराउको बजार मूल्य हाल ८० ९० रुपैयाँ प्रतिकिलो पर्ने र यही केराउ भारतमा भने १ सय २० रुपैयाँ भारु पर्ने भएकोले केराउको तस्करी बढेको बताइन्छ । पछिल्लो समय मरिच, छोकडापछि केराउ तस्करी अत्यधिक रुपमा हुने गरेको व्यापारीहरु बताउछन्।

Share Now

Leave a comment.