Prakash Adhikari October 20, 2020

 

काठमाडौं, ४ असोज । नेपालमा विगत २४ घण्टामा ३ हजार ९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि १३ हजार ८ सय ६१ वटा नमुना परीक्षण गरिएको थियो।

केही सातादेखि सुरु भएको काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम मङ्गलवार पनि जारी रह्यो।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १ हजार ७ सय २ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३९ हजार नाघेको छ।

मन्त्रालयले विगत २४ घण्टामा थप आठ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ७ सय ६५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस . नेपालमा कोभिड-१९ महामारी. .

मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरि २ हजार १ सय ८ सङ्क्रमित रोगमुक्त भए।

अहिलेसम्म ९६ हजार ६ सय ९ सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.४ प्रतिशत हो।

सोमवार मन्त्रालयले ३ हजार ७ सय ९० मा सङक्रमण र १८ मृत्यु भएको पुष्टि गरेको थियो।

कोरोनाभाइरस ब्यानर
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

गत शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।

कति छन् सक्रिय सङ्क्रमित ?

अहिले देशभरि ४१ हजार ७ सय ५५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १३ हजार ५ सय ५९ संस्थागत आइसोलेशनमा र बाँकी घरमै छन्।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो। (बीबीसी)

 

Share Now

Leave a comment.