वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ७ कार्तिक(बीबीसी) । अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी छंदा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले चुनावअघिको अन्तिम बहसमा सहभागी हुनुभएको छ।
टेनेसी राज्यको नास्भिलमा भएको उक्त बहसको लागि तोकिएका बिषयमा कोभिड १९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व थिए।
बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतीय बहसपछि २ लाख २८ हजार अमेरिकीको कोभिड १९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोध्नुभएको थियो।
महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भन्नुभयो, ‘हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ।’
महत्त्वपूर्ण बहस
यस बहस दुवैको चुनावी अभियानका लागि निकै प्रभावकारी हुनसक्ने ठानिएको छ।
२ सय जति मात्र मानिसहरू बसिरहेको बहस हलमा यसपटक आयोजकले त्यहाँ उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका थिए।
बाइडनलाई सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो।
कोरोनाभाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ थियो , म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु।ू
बहसअघि बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताउनुभएको थियो।
ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उहाँलाई गल्ती गर्न दिनुपर्ने बताउनुभएको थियो।
रेम्डेसिभीरलाई स्वीकृति
बहस हुनुभन्दा केहीबेरअघि मात्र अमेरिकाको खाद्य तथा औषधी निकाय एफडीएले औपचारिक रूपमा कोभिड(१९ विरूद्धको पहिलो औषधी रेम्डेसिभीरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।
नशाहरूमार्फत् दिइने यो औषधी यसअघि राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित हुँदा दिइएको थियो।

एफडीएले उक्त औषधी १२ वर्ष र त्यसमाथिका कम्तिमा ४० किलो तौल भएका बिरामीलाई दिन सकिने जनाएको हो।
यसअघि मे महिनामा अमेरिकामा आपत्कालीन अवस्थामा प्रयोगका लागि रेम्डेसिभीर औषधीलाई अनुमति दिइएको थियो।
तर आजको कदमले त्यो सुरक्षित रहेको जनाएको हो।
बहसअघि विवादित अन्तर्वार्ता
यसअघि राष्ट्रपति ट्रम्पले पूर्वाग्रही अन्तर्वार्ता भन्दै सीबीएस न्युज च्यानललाई दिएको आफ्नै कुराकानीको एउटा रेकर्डिङ सार्वजनिक गर्र्नुभएको थियो ।
अन्तर्वार्ता लिने सीबीएस न्युज च्यानलले ट्रम्पले आइतवार प्रशारण हुने उक्त अन्तर्वार्ताको फुटेज पहिल्यै सार्वजनिक गर्न नपाइने आफूसँगको सम्झौता तोडेको जनाएको छ।
ट्रम्पले उक्त अन्तर्वार्तामा आफूप्रति घृणा र कठोरता प्रस्तुत गरिएको जनाउनुभएको थियो।
अन्तर्वार्ताकारले राष्ट्रपतिलाई अर्थतन्त्र, महामारी र स्वास्थ्य सेवाका बिषयमा जोड दिएर प्रश्नहरू सोधेका थिए।
सीबीएस न्युजले यस घटनालाई अकल्पनिय बताउँदै त्यसबाट आफ्नो तटस्थ र सान्दर्भिक रिपोर्टिङमा विचलित नभएको जनाएको छ।


















