काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसबाट संक्रमित सबै नेपालीको निःशुल्क उपचार गर्न सरकारसंग आग्रह गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले बिहिबार एक विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो ।
कोभिड–१९ को संक्रमणका कारण धेरै नेपाली दाजुभाइ–दिदिबहिनीको मृत्यु भएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ,’ यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’
उहाँले कोरोना संक्रमणको भयावह फैलावटको उल्लेख गर्दै भन्नुभएको छ, ‘म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड—१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरि नेपाली नागरिकको स्वास्थ्य परिक्षण देखि संक्रमितको उपचार सम्मका सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु ।’
उहाँले जनजीवन कष्टकर हुँदै गएको यथार्थतर्फ सम्वेदनशील भई जनताको हितमा काम गर्न नेपाल सरकारसंग आग्रह गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्यबिमुख हुँदै गएको उल्लेख गर्दै भन्नुभएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मीक स्वास्थ सेवावाट बंन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो ।’
उहाँले मौलिक हकको कार्यान्वयन सरकारले कुनै शर्त बिना गर्नुपर्ने उल्लेख गर्दै भन्नुभएको छ, ‘सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्बोच्च अदालतको पनि अपहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीलाई सजग गराउन चाहन्छु ।’
पूर्वप्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भदेखिनै गैर जिम्मेवार उल्लेख गर्दै भन्नुभएको छ, समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परिक्षण, क्वारेन्टाईन, आईसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई ईज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण हुन् ।
उहाँले नेपाली कांग्रेसले समयमा दिएका सुझावलाई सरकारले वास्ता नगरेको स्मरण गराउदै महामारीको भयावह अवस्था सृजना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार भएको बताउनुभएको छ ।
उहाँले राज्यको ढुकुटी अनावश्यक काममा खर्च भएकोमा चिन्ता व्यक्त गर्दै नागरिकको स्वास्थ्यबारे सरकार असंवेदनहीन बनेकोमा आश्चर्य प्रकट गर्नुभएको छ । कांग्रेस सभापति देउवाले देशमा कालाबजारी, महंगाई, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको तथा आर्थिक पारदर्शिता, अनुशासन र मितव्ययिता कायम नभएकोमा पनि चिन्ता प्रकट गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले कोरोना संक्रमणमा परेर ज्यान गुमाउनु हुने सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उहाँले सक्रिय संक्रमितको शिघ्र स्वास्थलाभको कामना पनि गर्नुभएको छ ।


















