काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरुको महान चाड बडा दशैं, दीपावली र छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुलाई सुस्वास्थ्य,दीर्घायु,सुख,शान्ति,सन्तोष,समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
बडा दशैंको सप्तमी अर्थात फूलपातीको दिन शुक्रबार एक भिडियो सन्देशमार्फत उहाँले शुभकामना प्रकट गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले यस पटकको दशै लगायतका चाडपर्व मनाउदा सबैभन्दा पहिले आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्नुभएको छ । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको खोप परीक्षण भएर आमरुपमा प्रचलनमा नआएसम्म एकर्काबीचमा भौतिक दूरी कायम राख्ने, नाक र मुख ढाक्ने गरी मास्क लगाउने, साबुपानीले मिचीमिची पटकपटक हात धुने कार्य गरी यसको जोखिम कम गर्ने उपाय अबलम्बन गर्न पनि सुझाउनुभएको छ ।
https://www.facebook.com/prakash.deuba/posts/3769638599715674
कांग्रेस सभापतिले देशमा महामारी फैलिएको बेला आमनागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नु सरकारको कर्तव्यभित्र पर्ने र नेपालको संविधानमा स्वास्थ्यसंबन्धी मौलिक हकमा समेत सो कुरा उल्लेख भएको उल्लेख गर्दै वर्तमान सरकारको नालायकीपनको कारण यी सुविधाबाट नेपाली जनता बञ्चित हुनु परेको बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाले सरकारको अदक्षताको कारण कोरोना संक्रमण नियन्त्रणबाहिर गएर सयौं नेपालीले जीवन गुमाउनु परेको तथा एक लाखभन्दा बढी नेपालीहरु यस घातक भाइरसको संक्रमणमा परेको पनि बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक व्यवस्था पनि कार्यान्वयन गर्न नसक्ने सरकारले रोगको निदानको लागि गरिने पीसीआर परीक्षणको समेत शुल्क निर्धारण गर्ने र आमनागरिकले आफैंले तिर्नुपर्ने निर्णय गरेर जनविरोधी काम गरेको आरोप लगाउदै आफ्नो अमूल्य जीवनको रक्षाको लागि सरकारको भर नपर्न र समयमा सावधानी अपनाउन पनि सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले प्रतिपक्षी दलको नेता र नेपाली कांग्रेसको सभापतिको हैसियतले आफूले सरकारलाई आमजनतालाई निशुल्क परीक्षण तथा स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउन सरकारलाई घच्घच्याउन कुनै कसर बाँकी नराखेको पनि बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाले कोरोना संक्रमणबाट जीवन गुमाउनुभएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनहरुप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।


















