काठमाडौं, ११ कार्तिक । आज बडा दशैंको एघारौं दिन टीकाको आज दोश्रो दिन हो । आज पनि देशका अधिकांश स्थानमा आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ।
दशैंको मुख्य दिन हिजो विजया दशमीबाट शुरु भएको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम मुलुकका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ ।
कोरोना महामारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभएपनि मान्यजनहरुबाट टीका थाप्नेको चहलपहल सामान्य देखिएको छ।
महामारीका कारण तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी परम्परा मान्नु पर्ने बाध्यता आम नागरिकको छ।
सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलका ठाउँ ठाँउमा विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ। अधिकांश ठाउँमा दशैँको मुख्य दिन टीका लगाउन नपाएकाहरू आज टीका थाप्न आफन्तकोमा जाने प्रचलन छ।
आज एकादशी परेकोले यस दिन शाकाहारी भोजन गर्ने चलन छ । यस दिनलाई पापमा अड.कुश लगाउने विश्वासका साथ आजको दिनलाइ पापाड.कुश एकादशी समेत भनिन्छ । आजको दिन ब्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्म्यको कथा सुन्ने चलन छ।
दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीमा गरिएका व्रतले वर्षभरि गरिएका पापलाई नाश गर्छ भन्ने मान्यता पनि रही आएको छ। यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीका रुपमा हिन्दुधर्माबम्वीहरुले लिने गर्दछन्।
यस दिन बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजापाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ। एकादशीमा ब्रत बस्नाले मामाघरतर्फका दश पुस्ता, पितृकुलतर्फका दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फका दश पुस्ता पितृहरुले बैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहेको छ। आजको दिन सुन, तिल, जौ, अन्न, भूमि, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्युपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ।
आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर बिताएमा राम्रो हुने धार्मिक विश्वास छ।


















