वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १५ कार्तिक (बीबीसी)। अमेरिकी मतदाताका लागि राष्ट्रपति पदका उम्मेद्वार द्धय रिपब्लिकन पार्टीका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका जो बाइडन आफ्नो चुनावी अभियानको समापनतिर हुनुहुन्छ ।
यहाँ चुनावसँग जोडिएका प्रमुख आठ मुद्दामा उहाँहरूका नीतिहरूको तुलना गरिएको छ ।
कोरोनाभाइरस
राष्ट्रपति ट्रम्पले गत जनवरीमा कोरोनाभाइरससम्बन्धी एउटा कार्यदल गठन गर्नुभएको थियो।
त्यसको ध्यान अब ूमानिसहरूको सुरक्षा र देशको अर्थतन्त्र कसरी खोल्नेू भन्नेमा केन्द्रित हुने उहाँको भनाइ छ।
ट्रम्पले कोरोनाभाइरसको उपचार र खोप विकासलाई पनि प्राथमिकतामा राख्नुभएको छ र त्यसका लागि उहाँले १० अर्ब डलर बिनियोजन गर्ने बताउनुभएको छ।
अर्कोतर्फ बाइडन चाहिँ देशव्यापी कन्ट्याक्ट ट्रेसिङ अभियान चलाउन चाहनुहुन्छ।
उहाँ हरेक राज्यमा कम्तीमा १० वटा परीक्षण केन्द्र स्थापना गर्न र सबैलाई निस्शुल्क कोरोनाभाइरस परीक्षण गराउन चाहनुहुन्छ।
बाइडन देशव्यापीरूपमा मास्कलाई अनिवार्य बनाउन चाहनुहुन्छ। त्यसअन्तर्गत सबै सार्वजनिक क्षेत्रमा मानिसहरूले मास्क लगाउनुपर्नेछ।
जलवायु
राष्ट्रपति ट्रम्प जलवायु परिवर्तनलाई लिएर सधैँ सन्देह व्यक्त गर्नुहुन्छ ।
उहाँ गैरनवीकरणीय ऊर्जाको विस्तार गर्न इच्छुक देखिनुहुन्छ।
उहाँको लक्ष्य ग्यास र तेल निकाल्ने कार्य बढाउने र वातावरण संरक्षणसम्बन्धी सुरक्षा प्रबन्धहरू फिर्ता लिने रहेको छ।
उहाँ प्यारिस जलवायु सम्झौताबाट पछि हट्नेमा प्रतिबद्ध हुनुहुन्छ।
चुनावमा उहाँले जित्नुभयो भने जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिएको उक्त अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका यो वर्षको अन्त्यमा औपचारिक रूपमा हट्नेछ।
जो बाइडन चाहिँ आफू राष्ट्रपति निर्वाचित भए तत्कालै प्यारिस सम्झौतामा सहभागी हुन चाहनुहुन्छ।
उहाँ सन् २०५० सम्ममा अमेरिकाले कार्बन उत्सर्जनको शून्य गरोस् भन्ने चाहना राख्नुहुन्छ।
बाइडन नयाँ सार्वजनिक जग्गाहरू तेल र ग्यास निकाल्न भाडामा लगाउने कार्य बन्द गराउन इच्छुक हुनुहुन्छ।
उहाँले हरित ऊर्जाका लागि २० खर्ब डलर लगानीको प्रस्ताव गर्नुभएको छ ।
अर्थतन्त्र
राष्ट्रपति ट्रम्पले १० महिनामा एक करोड रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले १० लाख नयाँ साना उद्योगहरू स्थापना गर्ने पनि बताउनुभएको छ।
ट्रम्प आयकरमा कटौती गर्न र कम्पनीहरूलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न ुट्याक्स क्रेडिटु दिन चाहनुहुन्छ।
अर्कोतर्फ जो बाइडन उच्च आय गर्नेहरूका लागि कर बढाउन चाहनुहुन्छ।
त्यसले गर्दा सार्वजनिक सेवाहरूमा लगानी गर्न सकियोस् भन्ने उहाँको चाहना छ।
तर उहाँको भनाइ के छ भने वार्षिक रूपमा चार लाख डलरभन्दा बढी आम्दानी गर्नेहरूलाई मात्र कर बढाइनेछ।
बाइडन राष्ट्रियस्तरमा न्यूनतम ज्यालादर बढाएर १५ डलर प्रतिघण्टा बनाउन चाहनुहुन्छ।
हाल यस्तो दर प्रतिघण्टा ७ डलर २५ सेन्ट रहेको छ।
स्वास्थ्य सेवा
राष्ट्रपति ट्रम्प ओबामाकालमा पारित भएको अफोर्डेबल केअर एक्ट (एसीए) खारेज गर्न चाहनुहुन्छ।
उक्त कानुनअनुसार निजी स्वास्थ्य बीमा प्रणालीमा सङ्घीय सरकारको नियन्त्रण बढाइएको थियो।
त्यसका साथै उक्त कानुनले पहिलेदेखि नै बिरामी भएका मानिसहरूलाई बीमाको हिस्सा नबनाउने कार्यलाई गैरकानुनी बनाइदिएको थियो।
ट्रम्प यसमा सुधार गरेर संशोधन गर्न चाहनुहुन्छ। यद्यपि उहाँको योजना के हो त्यसबारेमा हालसम्म कुनै पनि जानकारी बाहिर आएको छैन।
उहाँको लक्ष्य औषधिको मूल्य कम गर्नु पनि रहेको छ। त्यसका लागि उहाँ बाहिरबाट सस्तो दरमा औषधी आयातको अनुमति दिन चाहनुहुन्छ।
तर जो बाइडन ओबामाकालको एसीएलाई कायम राख्ने मात्र होइन त्यसलाई विस्तार पनि गर्न चाहनुहुन्छ।
उहाँ मेडिकेअरका लागि ६० वर्षको उमेरहद कायम गर्न चाहनुहुन्छ। अहिले त्यो हद ६५ वर्ष तोकिएको छ।
मेडिकेअरअन्तर्गत जेष्ठ नागरिकहरूलाई चिकित्सा सुविधा प्राप्त हुने गर्छ।
उहाँ सबै अमेरिकीहरूलाई मेडिकेअरजस्तै खालको जनस्वास्थ्य बीमा योजना दिन चाहनुहुन्छ।
विदेश नीति
राष्ट्रपति ट्रम्पले विदेशमा रहेका अमेरिकी सैनिकहरूको सङ्ख्या घटाउने आफ्नो वाचा दोहोर्याउनुभएको छ। यद्यपि उहाँले सेनामा लगानी जारी राख्ने जनाउनुभएको छ।
ट्रम्पले अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिन जारी राख्ने र चीनमाथिको व्यापार शुल्कलाई निरन्तरता दिने पनि बताउनुभएको छ।
बाइडनले भने अमेरिकी सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले चीनमाथि एकतर्फी शुल्क नलगाउने पनि बताउनुभएको छ।
त्यसको साटो एउटा अन्तर्राष्ट्रिय गठबन्धनका साथ चीनलाई उत्तरदायी बनाउने र त्यसलाई चीनले बेवास्ता गर्न नसक्ने बाइडनको तर्क छ।
जातिवाद र प्रहरी
राष्ट्रपति ट्रम्प अमेरिकी प्रहरी सङ्गठनभित्र जातिवाद प्रणालीगत रूपमा रहेको समस्या हो भन्ने विश्वास गर्नुहुन्न।
उहाँले आफूलाई कानुन कार्यान्वयनको कडा हिमायतीका रूपमा प्रस्तुत गर्न खोज्नुभएको छ।
यद्यपि उहाँले शक्त कदमहरूको विरोध गर्नुभएको छ र कार्यप्रणालीमा सुधारको प्रतिबद्धता जनाउनुभएको छ।
बाइडनले भने जातिवादलाई एउटा प्रणालीगत समस्याका रूपमा हेर्नुभएको छ।
उहाँले न्याय प्रणालीमा जातिवादी असमानता कम गर्ने नीति निर्धारण गर्ने बताउनुभएको छ।
त्यसमा कैदीहरूको सङ्ख्या कम गर्नेदेखि लिएर राज्यहरूलाई प्रोत्साहन दिनेसम्मका कुरा छन्।
उहाँले प्रहरीलाई धनराशि दिने कुरालाई अस्वीकार गर्नुभएको छ। त्यसको साटो उचित मापदण्ड बनाइराख्न अतिरिक्त स्रोतसाधन दिनुपर्ने उहाँको तर्क छ।
बन्दुक
राष्ट्रपति ट्रम्प अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकारको सुरक्षा दिने संविधानको दोस्रो संशोधनलाई आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ।
सन् २०१९ मा भएका गोली प्रहारका घटनापश्चात् उहाँले बन्दुक किन्नेहरूको पृष्ठभूमिको कडाइका साथ जाँच गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको थियो।
तर त्यसबारे थप केही पनि जानकारी प्राप्त भएन र कुनै कानुन पनि पारित भएन।
बाइडन चाहिँ साङ्घातिक हतियारहरू प्रतिबन्ध गर्ने, समान रूपमा सबैको पृष्ठभूमि परीक्षण गर्ने, प्रतिमहिना प्रतिव्यक्ति बन्दुक खरिद सङ्ख्या सीमित गर्ने, लापर्बाहीपूर्वक बन्दुक बनाउने र बेच्नेमाथि मुद्दा चलाउन सहज बनाउने पक्षमा देखिनुभएको छ।
उहाँ बन्दुकबाट हुने हिंसालाई रोक्न अनुसन्धान गर्न चाहनुहुन्छ र त्यसका लागि बजेट छुट्ट्याउन पनि तयार हुनुहुन्छ।
सर्वोच्च अदालत
राष्ट्रपति ट्रम्प आफ्नो अहिलेकै कार्यकालका क्रममा सर्वोच्च अदालतमा रिक्त रहेका दरबन्दी पूरा गर्ने आफ्नो संवैधानिक अधिकार रहेको बताउँनुभएको छ।
उहाँले एक अनुदारवादी न्यायाधीश एमी कोने ब्यारेटको नाम सिफारिस पनि गर्नुभएको छ।
अमेरिकामा गर्भपतनलाई कानुनी अधिकार बनाउनेबारे सर्वोच्च अदालतलाई तत्कालै फैसला गर्नुपर्नेछ।
यो किन पनि मुद्दा बन्यो भने ट्रम्प र न्यायाधीश ब्यारेटले त्यसको विरोधमा पहिले नै विचार व्यक्त गरिसक्नुभएको छ।
बाइडन भने नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गरेपछि मात्र सर्वोच्चको रिक्त दरबन्दी पूर्ति गर्नुपर्ने चाहना राख्नुहुन्छ।
उहाँले आफू राष्ट्रपति चुनिए सर्वोच्चले गर्भपतनलाई कानुनी अधिकारयुक्त बनाउने कुरालाई अस्वीकार गरिदिएको खण्डमा महिलालाई गर्भपतनको अधिकार दिने खालको विधेयक पास गराउन काम गर्ने बताउनुभएको छ।