Prakash Adhikari January 30, 2018

काठमाडौं, १६ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी(पीआइसी)को एफपीओ माघ १८ गते (बिहीबार) बाँडफाँट हुँदैछ ।

विक्री प्रबन्धक एनएमबी क्यापिटलले सो दिन बाँडफाँट गर्ने तयारी गरेको छ ।

प्रिमियरले पुस १६ देखि पुस १९ सम्म ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ विक्री खुला गरेको थियो ।

एनएमबी क्यापिटलका प्रमुख व्यवसायी तथा सञ्चालन अधिकृत कमल प्रसाद नेपालले प्रिमियरको एफपीओमा १ लाख ८३ हजार ८ सय ४६ जना आवेदकबाट रू। ३ अर्ब २२ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको बताएका छन् । तोकिएको भन्दा बढी संख्यामा आवेदन परेकोले गोलप्रथाबाटै एफपीओ बाँडफाँट हुने संभावना रहेको छ ।

गोलप्रथाद्वारा एफपीओ बाँडफाँट गर्दा अहिलेको नियममा ६५ हजार ९ सय ५६ जना लगानीकर्ताको हातमा १० कित्ता सेयर पर्ने देखिन्छ ।

प्रिमियरले रू। १ सयमा प्रिमियम बापत रू। ६ सय ९९ थप गरी रू। ७ सय ९९ मा एफपिओ विक्री गरेको हो । प्रिमियरले एफपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट मङ्सिर १८ गते स्वीकृति पाएको थियो ।

यस एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २ सय ९० कित्ताको लागि आवेदन दिन पाउने व्यवस्था रहेको थियो । हाल रू। ४४ करोड ८५ लाख ३ हजार ८ सय चुक्तापूँजी रहेको प्रिमियरको एफपिओ बाँडफाँट पश्चात रू। ५१ करोड ४४ लाख ६० हजार ३ सय पुग्नेछ ।

Share Now

Leave a comment.